कृत्रिम ताल फुट्ने जोखिम बढेपछि केरुङमा उद्धार रोकियो
काठमाडौं। नेपाल–चीन सीमावर्ती तिब्बतको जिरोङ (केरुङ) क्षेत्रमा पहिरोले नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ पक्षले तत्कालका लागि उद्धार अभियान रोकेको छ।
गत बुधबार आएको भीषण पहिरो, लेदो र बाढीले केरुङ नाका आसपास ठूलो क्षति पुर्याएको थियो। पहिरोका कारण नदीको बहाव रोकिएपछि बनेको तालमा लगातार पानी जम्मा भइरहेकाले जलस्तर उच्च बिन्दुमा पुगेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
वर्षा नरोकिए तालको पानी जुनसुकै बेला बाहिर निस्कन सक्ने वा बाँध फुट्न सक्ने जोखिम रहेको भन्दै उद्धारमा खटिएका टोलीलाई सुरक्षित स्थानमा सारिएको हो। चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूले उद्धारकर्मीको सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि अभियान रोकिएको जनाएका छन्।
ताल फुटेमा त्यसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले चिनियाँ अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा मानिसको आवतजावतमा समेत कडाइ गरेका छन्। अहिले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह, वर्षाको अवस्था र सम्भावित बहावबारे निरन्तर निगरानी भइरहेको छ।
यसैबीच, बाढीपहिरोका कारण तिब्बततर्फ ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार ५५० भन्दा बढी मानिस बेपत्ता रहेको र तीमध्ये करिब २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ। कैलाश–मानसरोवर यात्रामा रहेका तीर्थयात्रीहरूमध्ये पनि केही सम्पर्कविहीन भएको जनाइएको छ।
केरुङ क्षेत्रमा भएको विपद्को असर नेपालतर्फ पनि गम्भीर रूपमा परेको छ। सीमावर्ती क्षेत्रमा आएको बाढीले भौतिक संरचना, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै भोटेकोशी हुँदै नेपालतर्फ ठूलो जनधनको क्षति भएको छ।
चिनियाँ अधिकारीहरूले आगामी केही दिनमा पनि भारी वर्षा हुन सक्ने भएकाले जोखिम थप बढ्न सक्ने आकलन गरेका छन्। त्यसैले कृत्रिम तालको अवस्था स्थिर नभएसम्म उद्धार तथा अन्य गतिविधि सञ्चालनमा थप सावधानी अपनाइने भएको छ।
तालको पानी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने अवस्था बनेपछि मात्रै उद्धार अभियान पुनः सञ्चालन गर्ने तयारी चिनियाँ पक्षको छ।
अहिले भने सम्भावित थप क्षति रोक्न र उद्धारकर्मी तथा स्थानीयको सुरक्षा सुनिश्चित गर्न जोखिम क्षेत्रमा निगरानीलाई प्राथमिकता दिइएको छ।
