भोटेकोशी बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएका ६१६ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। प्रहरीका अनुसार विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्
भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, सरकारी तथा निजी संरचनासहित ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ।
यसैबीच, अझै धेरै मानिस सम्पर्कविहीन रहेको भन्दै सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका टोली परिचालन गरिएको छ। उद्धारसँगै फेला परेका शवको पहिचान तथा आफन्तलाई बुझाउने कामसमेत भइरहेको छ।
बाढीबाट प्रभावित परिवारहरू आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् भने सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्राथमिकतामा राखेको जनाएको छ।
