आङ्देम्बेको ९ बुँदे सुझाव : छुट्टाछुट्टै हेलिकोप्टरदेखि विदेशी उद्धार टोलीसम्म
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत प्रभावकारी बनाउन ९ बुँदे सुझाव दिएका छन्।
शनिबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आङ्देम्बेले बाढी प्रभावित नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत निरीक्षणबाट देखिएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका हुन्।
उनले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर तत्काल परिचालन गर्नुपर्ने बताएका छन्। नेपाली सेनाले गरिरहेको उद्धार प्रयासको प्रशंसा गर्दै उनले हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन, क्षतिग्रस्त पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलीब्रिज जडान गर्नसमेत माग गरेका छन्।
त्यस्तै, अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालन गरी उद्धार र राहतको काम सहज बनाउनुपर्ने उनको सुझाव छ।
बाढीले बगाएर ल्याएका शव तथा बेपत्ताको खोजीलाई तीव्र पार्नुपर्ने भन्दै उनले शव पहिचान र व्यवस्थापनका लागि थप टोली परिचालन गर्न माग गरेका छन्। उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायात व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिनुपर्ने भन्दै आङ्देम्बेले नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न माग गरेका छन्।
राहत तथा उद्धारमा स्थानीय तहसँग संघीय सरकारले प्रभावकारी समन्वय गर्नुपर्ने र सहयोग गर्न इच्छुक सामाजिक संघसंस्थालाई समेत सहजीकरण गर्नुपर्ने उनले बताएका छन्।
सुरुङ, भग्नावशेष वा अन्य जोखिमपूर्ण स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिनुपर्ने सुझाव पनि उनले दिएका छन्।
त्यसैगरी, त्रिशूलीलगायत नदी क्षेत्रमा आवतजावत सहज बनाउन तत्काल तुइनको व्यवस्था गर्नुपर्ने आङ्देम्बेको माग छ।
विपद्को अवस्थामा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उद्धार, राहत र पुनःस्थापनाका काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताएका छन्।
