`

रसुवा बाढी : मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी सम्पर्कविहीन

Nepal One HD १५ भदौ २०८३ १०:४०
बिशेष

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विवरण थप भयावह देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २२७ जना सम्पर्कविहीन छन् । विपद्मा परेका १० हजार ४५१ जनाको उद्धार भइसकेको जनाइएको छ ।

बाढीबाट घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपछि पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको प्राधिकरणले जनाएको छ । ती शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् ।

यसअन्तर्गत नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

बाढीपछि अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ । साथै फेला परेका शवको पहिचान र व्यवस्थापन तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *