सरकारी कोषमा राहत थुप्रिएको छ, रसुवाका बाढीपीडित भोकै छन् – ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी बाढीपछि सरकारी कोषमा राहत तथा रकम जम्मा भए पनि प्रभावित नागरिकसम्म सहायता पुग्न नसकेको आरोप लगाएका छन् ।
सोमबार एमाले पार्टी कार्यालयमा बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले बाढीपीडितको अवस्था अझै कष्टकर रहेको बताएका हुन् ।
उनले सरकारको भरमा मात्र राहत वितरण प्रभावकारी नहुने भन्दै एमालेले विभिन्न पक्षसँग समन्वय गरेर प्रभावित नागरिकसम्म सहयोग पुर्याउने बताए ।
ओलीले सरकारी कोषमा पर्याप्त रकम र राहत सामग्री जम्मा भए पनि त्यसको प्रभावकारी वितरण हुन नसकेको दाबी गरे ।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गर्न हामी प्रयास गरिरहेका छौँ ।’
उनले विपद्का बेला राहत सामग्री संकलन गरेर मात्र नहुने भन्दै वास्तविक पीडितसम्म समयमै पुर्याउनुपर्नेमा जोड दिए ।
