राष्ट्रिय सभामा सांसदहरुको माग, ‘राष्ट्रिय शोक घोषणा गरौँ’
काठमाडौं । राष्ट्रिय सभामा सांसदहरुले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अविलम्ब राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग राखेका हुन्।
बैठकमा कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरे । ‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ बैठकमा उनले भने ।
त्यस्तै, नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले एक दिन राष्ट्रिय झण्डा झुकाएर राष्ट्रिय शोक घोषणागर्नुपर्ने धारणा राखिन्। बाढीबाट भएको क्षतिलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र नहेरी राष्ट्रिय तहकै गम्भीर संकटका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले बाढीको कारण र यसको दीर्घकालीन असरबारे समेत सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुरेशकुमार आलेमगरले विकसित मुलुकहरूले सिर्जना गरेको जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर तथा विकासोन्मुख देशले बढी भोग्नुपरेको बताए । उनले नेपालमा पछिल्लो समय देखिएका बेमौसमी तथा विनाशकारी प्राकृतिक विपत्तिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
