मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित
इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।
अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।
ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।
त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।
द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।
युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।
एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।
टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।
यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।
ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।
फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो ।
