चीनबाट आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुग्यो
काठमाडौं – बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
सोही विमानबाट नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो। सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो।
