देवीघाटदेखि पृथ्वीनारायण शाहको दाहसंस्कार गरेको ढुंगा बग्यो
नुवाकोट । त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा अहिले गेग्रानको थुप्रो छ । सात दिनपछि बल्ल मंगलबार स्काभेटर चलाएर ऐतिहासिक बजार सफा गर्न थालिएको छ ।
तर, बाढीले देवीघाटको बजार मात्रै डुबाएन । इतिहाससँग जोडिएका चिनो पनि बगाएर लग्यो ।
१० भदौको भीषण बाढीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य देवीघाटलाई क्षतविक्षत बनायो । बजारका घर-पसल गेग्रानले पुरिए ।
बजार क्षेत्रमै रहेको वृद्धाश्रम पनि डुबानमा पर्यो । भुइँतलामा रहेका आठ जना ज्येष्ठ नागरिकमध्ये छ जनाको मृत्यु भयो भने दुई जनाको उद्धार गरिएको थियो ।
देवीघाट आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको अन्तिम संस्कारसँग जोडिएको ऐतिहासिक स्थल हो ।
गोसाईकुण्ड क्षेत्रबाट बग्ने त्रिशूली र सूर्यकुण्ड क्षेत्रबाट आउने तादी नदीको संगममा शाहको अन्तिम संस्कार गरिएको इतिहाससँग जोडिएको छ ।
स्थानीय रामशरण वस्तीका अनुसार पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको भनिएको ढुंगा पनि यही संगमस्थलमा थियो । त्यसकै छेउमा जालपादेवी मन्दिर थियो ।
बगरको रातो कपडा भएको ठाउँ देखाउँदै उनले भने, ‘अहिले न ढुंगा छ, न मन्दिर।’
इतिहासअनुसार वि.सं. १८३१ मा नुवाकोट दरबार आएका बेला बिरामी परेपछि पृथ्वीनारायण शाहलाई उनकै इच्छाअनुसार देवीघाट ल्याइएको थियो । नौ दिन जलाश्रममा राखिएका शाहको पुस २७ गते देवीघाटमै निधन भएको बताइन्छ ।
अलिकति माथि पृथ्वीनारायण शाहको शालिक अझै उभिएको छ । तर, केही तल दाहसंस्कार गर्दाको ढुंगा छैन । बालुवाको थुप्रो छ । पुरानो पहिचान छैन ।
देवीघाट बजार फेरि बन्न सक्छ । गेग्रान हट्न सक्छ । मन्दिर पनि पुनर्निर्माण हुन सक्छ ।
तर, नदीले बगाएको पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा कहाँबाट ल्याउने ? वस्तीले चिन्ता गरे ।
