आयु सकियो, फेरि ‘झर्यो कृष्णभीर…’
धादिङ। पृथ्वी राजमार्गमा यात्रा गर्नेहरूका लागि कृष्णभीर कुनै सामान्य सडकखण्ड होइन। काठमाडौँबाट धादिङ हुँदै चितवन, तनहुँ, कास्की वा पश्चिम नेपालतर्फ लागेका यात्रुका लागि कृष्णभीर कटेपछि बल्ल यात्रा सहज भएको अनुभूति हुने समय थियो।
२०५५ देखि २०६० सालको बीचमा कृष्णभीरमा पटकपटक पहिरो खसिरहन्थ्यो। कहिले घण्टौँ सडक बन्द हुन्थ्यो, कहिले दिनौँसम्म यातायात ठप्प हुन्थ्यो। यात्रुहरू सडक खुल्ने प्रतीक्षामा घण्टौँ बस्न बाध्य हुन्थे। पहिरोको डर र जामको सास्ती कृष्णभीरको परिचयजस्तै बनेको थियो। त्यही समयको पीडा गीतमा समेत पोखियो।
‘झर्यो, झर्यो, झर्यो कृष्णभीर…’ भन्ने गीतले तत्कालीन कृष्णभीरको अवस्थालाई जनमानसमा अझ गहिरो गरी स्थापित गर्यो। कृष्णभीरको पहिरोलाई आधार बनाएर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ र ‘कृष्णभीरमा जाम’ जस्ता गीतसमेत बने। कृष्णभीरको पहिरो केवल सडकको समस्या थिएन। यो यात्रासँग जोडिएको त्रास, प्रतीक्षा र अनिश्चितताको कथा थियो।
दुई दशकअघि गरिएको उपचार
लगातारको पहिरोबाट आजित बनेपछि २०६० सालमा कृष्णभीरमा पहिरो नियन्त्रणको काम भयो। पहिरो रोक्न पर्खाल तथा अन्य संरचना निर्माण गरिए। त्यसपछि कृष्णभीरमा पहिरोको समस्या धेरै हदसम्म नियन्त्रणमा आयो र पृथ्वी राजमार्गमा यात्रा गर्नेहरूले राहत पाए।
तर ती संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो।
समय बित्दै गयो। संरचना बनेको दुई दशकभन्दा बढी भइसक्यो। र अहिले फेरि कृष्णभीरमा पहिरो खसेको छ।
यसपटकको पहिरोको कारण भने विगतको भन्दा केही फरक छ। भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाब बढ्यो। नदीले सतहबाटै जमिन कटान गर्न थालेपछि गत भदौ १४ गते कृष्णभीरमा नदी किनारबाटै जमिन भासियो। त्यसपछि पृथ्वी राजमार्गको यो खण्डमा आवागमन अवरुद्ध छ।
पहिरोका कारण मुग्लिन-नौबिसे सडकखण्ड हुँदै यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्। काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने र आउने सवारी साधनको आवागमनमा यसको प्रत्यक्ष असर परेको छ।
फेरि उही कृष्णभीर?
कृष्णभीरको अहिलेको अवस्थाले एउटा पुरानो प्रश्न फेरि अगाडि ल्याएको छ- के हामीले कृष्णभीरको समस्या समाधान गरेका थियौँ कि केही वर्षका लागि मात्र टारेका थियौँ?
२०६० सालमा बनाइएका संरचनाको आयु सकिएपछि अहिले फेरि सडक नै जोखिममा परेको छ। पहिरो खसेको स्थानमा तत्काल सडक सञ्चालनमा ल्याउनसमेत सहज देखिँदैन। नदीको कटान, भौगोलिक बनावट र कमजोर जमिनका कारण सामान्य सडक मर्मतले मात्रै दीर्घकालीन समाधान दिन नसक्ने देखिन्छ।
कृष्णभीरमा फेरि समस्या बल्झिएपछि पुराना दिन सम्झनेहरू पनि छन्। कुनै समय यात्रुहरू कृष्णभीर कटेपछि मात्रै गन्तव्यसम्म पुगिनेमा ढुक्क हुन्थे। पहिरो खस्नेबित्तिकै सडकमा गाडीको लाम लाग्थ्यो। यात्रुहरू घण्टौँसम्म बाटो खुल्ने प्रतीक्षामा बस्थे।
त्यही अवस्थालाई समेटेर बनेका गीतहरूले कृष्णभीरलाई एउटा सडकखण्डभन्दा माथि उठाएर नेपाली जनजीवनको स्मृतिको हिस्सा बनाएका थिए। दिलीप रायमाझी र झरना थापा अभिनित चलचित्र ‘इन्द्रेणी’मा समावेश ‘झर्यो, झर्यो, झर्यो कृष्णभीर… कृष्णभीर कटेसी छैन मनमा कुनै पिर’ गीतले त्यही समयको अवस्थालाई सम्झाउँछ। २०६० सालमा प्रदर्शन भएको उक्त चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गाएको यो गीत अहिले पनि युट्युबमा सुन्न सकिन्छ।
कृष्णभीरकै पहिरोलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको गीतसमेत बनेको छ। कृष्ण देवकोटा, दुर्गा रायमाझी र सर्मिला गुरुङले गाएको उक्त गीतले पनि कृष्णभीरलाई पहिरो र अवरोधसँग जोडेर प्रस्तुत गरेको थियो। बीमाकुमारी दुरा र मिलन लामाको स्वरमा रहेको ‘कृष्णभीरमा जाम’ गीतले पनि त्यही समयको सडक अवस्थालाई सम्झाउँछ।
भदौमै सडक खुल्ला त?
समस्या फेरि दोहोरिएपछि अब तत्काल सडक खुलाउने चुनौती सरकारसामु छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरेर भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने दाबी गरेका छन्। तत्कालका लागि सडक सञ्चालनमा ल्याउनु आवश्यक पनि छ, किनकि पृथ्वी राजमार्गको यो खण्डले राजधानीलाई देशका ठूलो भूभागसँग जोड्छ।
तर प्रश्न सडक खुलाउने मात्र होइन। कृष्णभीरको समस्या फेरि केही वर्षपछि नदोहोरियोस् भन्ने हो भने यसको दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ। नदीले सडकको आधार नै काट्ने अवस्था आएको ठाउँमा केवल पहिरो पन्छाएर सडक कालोपत्रे गर्नु पर्याप्त नहुन सक्छ।
भौगोलिक अवस्था र नदीको बहाबलाई ध्यानमा राखेर नयाँ प्रविधि, बलियो संरक्षण संरचना वा वैकल्पिक मार्गबारे अध्ययन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। कतिपय प्राविधिकले कृष्णभीरलाई नै छाडेर अर्को रुट प्रयोग गर्नुपर्ने सुझावसमेत दिइरहेका छन्।
किनकि कृष्णभीरको कथा नयाँ होइन।
दुई दशकअघि पनि पहिरो थियो। त्यसपछि संरचना बन्यो। संरचनाले दुई दशक सडक जोगायो। अहिले त्यसको आयु सकिँदा फेरि उही ठाउँमा समस्या फर्किएको छ।
त्यसैले अहिले कृष्णभीरमा खसेको पहिरो केवल बाटोको अवरोध होइन, दुई दशकअघि गरिएको समाधान कति दिगो थियो भन्ने प्रश्न पनि हो।
कुनै समय गीतमा गुञ्जिएको थियो-‘झर्यो, झर्यो, झर्यो कृष्णभीर…’ समय फेरिएको छ। प्रविधि फेरिएको छ। सडकको स्वरूप फेरिएको छ। तर कृष्णभीरको समस्या फेरि उही ठाउँमा आइपुगेको छ।















