`

ब्ल्याक होलको ‘शिकार’ बनेका तारा किन कम चम्किन्छन्?

Nepal One HD १७ भदौ २०८३ १८:०३
फिचर

काठमाडौं। सुपरम्यासिभ ब्ल्याक होलको नजिक पुगेर पनि विनाशबाट जोगिएका ताराबारे वैज्ञानिकहरूले नयाँ रहस्य पत्ता लगाएका छन्। 

ब्ल्याक होलले यस्ता ताराबाट पटक-पटक पदार्थ तान्दा हरेक घटनासँगै देखिने प्रकाशको चमक किन घट्दै जान्छ भन्ने प्रश्नको सम्भावित उत्तर अनुसन्धानकर्ताहरूले दिएका हुन्।

वैज्ञानिक भाषामा यस्ता घटनालाई रिपिटिङ पार्टियल टाइडल डिसरप्सन इभेन्ट (आरपीटीडीई) भनिन्छ। यसमा कुनै तारा सुपरम्यासिभ ब्ल्याक होलको अत्यन्त नजिक पुग्छ। ब्ल्याक होलको शक्तिशाली गुरुत्वीय प्रभावले ताराको केही भाग तानेर लैजान्छ, तर तारालाई पूर्णरूपमा नष्ट भने गर्दैन। त्यसपछि तारा फेरि ब्ल्याक होल वरिपरि घुम्छ र अर्को पटक नजिक पुग्दा पुनः केही पदार्थ गुमाउँछ।

हरेकपटक ताराबाट पदार्थ ब्ल्याक होलतर्फ खस्दा त्यहाँबाट शक्तिशाली प्रकाशको फ्लेयर निस्कन्छ। तर यस्ता घटनामा पछिल्ला फ्लेयरहरू अघिल्लाभन्दा कमजोर हुँदै जाने गरेको वैज्ञानिकहरूको ठहर छ। 

अमेरिकाको सिराक्युज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो असामान्य घटनाको कारण पत्ता लगाउन ताराको आफ्नै स्पिन, अर्थात् घुम्ने गतिलाई अध्ययनमा समेटेका छन्।

अनुसन्धान टोलीकी प्रमुख अनन्या बन्दोपाध्यायका अनुसार यो समस्या समाधान गर्न वैज्ञानिकहरू करिब दुई वर्षदेखि प्रयासरत थिए।

अनुसन्धानकर्ताहरूका अनुसार ब्ल्याक होलले ताराबाट कति पदार्थ तान्छ भन्ने कुरा ताराको आन्तरिक बनोटमा पनि निर्भर हुन्छ।

कम द्रव्यमान भएका तारा तुलनात्मक रूपमा नरम र फुस्रो संरचनाका हुन्छन्। त्यसैले ब्ल्याक होलको टाइडल फोर्सले तिनलाई सजिलै प्रभावित गर्छ र भित्री भागबाट समेत धेरै पदार्थ तान्न सक्छ।

तर बढी द्रव्यमान भएका ताराको संरचना प्याजका तहजस्तै हुन्छ। ब्ल्याक होलको नजिक पुग्दा यसको बाहिरी तहहरू पहिले हट्छन्, तर केन्द्र अर्थात् कोर भने बलियो रहन्छ। त्यसैले प्रत्येक भेटमा बाहिरी पदार्थ घट्दै गएपछि ब्ल्याक होलले अर्को पटक तान्न सक्ने पदार्थ पनि कम हुँदै जान्छ।

तर यही कारणले मात्र प्रकाशको चमक घट्ने घटनालाई पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन।

वैज्ञानिकहरूको अघिल्लो अध्ययनले ब्ल्याक होलले तारामा टर्क लगाउने देखाएको थियो। यसको असरले तारा प्रत्येकपटक ब्ल्याक होलको नजिक पुग्दा अझ तीव्र गतिमा घुम्न थाल्छ।

ताराको स्पिन बढेपछि उसले ब्ल्याक होल वरिपरि पूरा गर्ने अर्बिटल पिरियड पनि छोटिँदै जान्छ। अर्थात् तारा पहिलेभन्दा छिटो-छिटो ब्ल्याक होलको नजिक पुग्छ।

यसले ताराबाट जाने पदार्थको मात्रा घटे पनि फ्लेयरको चमकलाई लामो समयसम्म कायम राख्न सक्छ।

तर केही आरपीटीडीईमा चमक निरन्तर घटिरहेको देखिएपछि अनुसन्धानकर्ताहरूले अर्को सम्भावना अघि सारे।

उनीहरूको निष्कर्षअनुसार, ब्ल्याक होलसँग पहिलोपटक भेटिनुअघि नै तीव्र गतिमा घुमिरहेको तारा यस्तो घटनाको कारण हुन सक्छ।

यदि तारा पहिलेदेखि नै तीव्र गतिमा घुमिरहेको छ भने ब्ल्याक होलको टर्कले त्यसको स्पिनमा धेरै वृद्धि गर्न सक्दैन। त्यसैले ताराको ब्ल्याक होल वरिपरिको परिक्रमा अवधि पनि धेरै छोटिँदैन।

फलतः ताराबाट प्रत्येकपटक कम पदार्थ छुट्दै जाँदा त्यससँगै फ्लेयरको चमक पनि क्रमशः घट्न सक्छ।

तर तारा सुरुबाटै यति तीव्र गतिमा किन घुमिरहेको थियो? भन्ने प्रश्न अहम रुपमा उठ्छ। 

वैज्ञानिकहरूले यसको सम्भावित उत्तर बाइनरी स्टार सिस्टममा भेटेका छन्।

धेरै तारा एक्लै नभई अर्को तारासँग जोडी बनाएर बाइनरी सिस्टममा रहेका हुन्छन्। यस्तो जोडी सुपरम्यासिभ ब्ल्याक होलको नजिक पुग्दा ब्ल्याक होलको शक्तिशाली गुरुत्वीय प्रभावले दुवै तारालाई छुट्याउन सक्छ।

यस प्रक्रियालाई हिल्स क्याप्चर भनिन्छ।

हिल्स क्याप्चरका क्रममा एउटा तारा तीव्र गतिमा बाहिर फालिन सक्छ भने अर्को तारा ब्ल्याक होलको गुरुत्वीय प्रभावमा फस्न सक्छ।

यदि बाइनरी सिस्टमका दुई तारा एकअर्काको निकै नजिक रहेर तीव्र गतिमा घुमिरहेका थिए भने, ब्ल्याक होलले कब्जा गरेको ताराले आफ्नो तीव्र स्पिन कायम राख्न सक्छ। साथै, त्यो तारा ब्ल्याक होलसँग निकै छोटो कक्षामा बाँधिन सक्छ।

यसरी पहिले नै तीव्र गतिमा घुमिरहेको तारा ब्ल्याक होल वरिपरि केही महिनामै एउटा अर्बिट पूरा गर्ने अवस्थामा पुग्न सक्छ।

अनुसन्धानकर्ता एरिक कफलिनका अनुसार, बाइनरी ताराको विनाश र त्यसका एक तारालाई ब्ल्याक होलले कब्जा गर्ने एउटै घटनाले आरपीटीडीईमा देखिएका धेरै असामान्य विशेषता व्याख्या गर्न सक्छ।

वैज्ञानिकहरूका लागि यो अध्ययन ब्ल्याक होल र ताराबीच हुने यस्तो अन्तरक्रियाको भौतिक प्रक्रिया बुझ्न महत्वपूर्ण उपलब्धि मानिएको छ।

यस अनुसन्धानको सम्बन्ध हाम्रो आफ्नै मिल्की वे आकाशगंगासँग पनि जोडिएको छ।

मिल्की वेको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होल स्याजिटेरियस ए स्टार (एसजीआर ए स्टार) अहिले आरपीटीडीईमा संलग्न छैन। तर यसको वरिपरि तीव्र गतिमा घुमिरहेका थुप्रै तारा छन्।

नयाँ अध्ययनले ती ताराहरू ब्ल्याक होलको वरिपरि कसरी यति तीव्र गतिमा घुम्ने अवस्थामा पुगे भन्ने रहस्य बुझ्न पनि सहयोग गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *