सरकार राहत बाँडेको फोटो देखाउँछ, बाढीपीडित भोकै
तीनतले घर ठडिएको ठाउँमा अहिले त्रिशूलीको बाढीले थुपारेको गेग्रान छ । छ त एउटा यस्तो थुप्रो, जसले उनको घरसँगै वर्षौँको पसिना पनि पुरिदिएको छ ।
गेग्रानमाथि उभिएर वीरबहादुरले बिस्तारै भने, ‘अहिले यहाँ आउँदा यही ठाउँमा मेरो घर थियो भन्ने मात्रै सम्झना आउँछ ।’
केही दिनअघिसम्म त्यही ठाउँमा उनको संसार थियो । तीनतले घर थियो । भान्सामा अन्न थियो । आँगनमा भैँसी थियो । परिवारको भविष्य थियो । भैंसी छ । अरु केही छैन ।
‘मान्छे र भैँसी जोगायौँ,’ उनले नेपालवानएचडीसँग भने, ‘तर, एक गेडो अन्न जोगिएन ।’
बाढीले घर बगाएको आठ दिन बितिसकेको छ । बाढीको पानी घटेको छ । तर, वीरबहादुरको जीवन अझै त्रासदीमा छ । अहिले उनी घरभन्दा केही माथि डेरा लिएर बसिरहेका छन् । बाँच्नका लागि डेरा त पाए । तर, अब डेराको भाडा कसरी तिर्ने ? किनेर खाने पैसा छैन । घर छैन । अन्न छैन । आम्दानीको आधार छैन । भोलि कहाँ बस्ने भन्ने ठेगान छैन ।
‘सरकारले राहत बाँडिरहेको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, यहाँ हामीले सरकारबाट राहत पाएनौँ । ऐँचोपैँचो गरेर खाँदै बसिरहेका छौँ ।’
उनले ‘राहत बाँडिरहेको सुनेको छु’ भन्दा उनको स्वरमा अचम्मको विडम्बना थियो । सरकारले राहत बाँडिरहेको समाचार उनीसम्म पुगेको छ । तर, राहत पुगेको छैन ।
गृहमन्त्री गुरुङ बट्टारमा, बाढीपीडित भोकै
सिम्बुटारकै दिनेश तामाङको घर पनि बाढीले बगायो । अहिले उनी तीन सदस्यीय परिवारसहित डेरामा छन् । लगाएको कपडाबाहेक केही बाँकी छैन ।
‘हाम्रो केही रहेन,’ उनले भने, ‘घरको नामोनिशाना छैन ।’
अहिले दिनेशको परिवारसँग घर छैन । अन्न छैन । भविष्यको योजना छैन । छ त, दिन काट्ने चिन्ता ।उनी सुनाउँछन्, ‘यहाँ राहत लिएर सरकार आएको छैन । अलिक पर बट्टारमा गृहमन्त्री सुधन गुरुङ आउनुभएको सुनेको छु । उहाँ त्यहाँ आए पनि राहत यहाँ आएन ।’
बाढीपछि एउटा चर्चसम्बन्धी संस्था र परिवर्तन मिडिया नामको संस्थाले केही थान चाउचाउ र पानी ल्याएको उनी सम्झन्छन् । त्यो सकियो ।
तर, सरकार पुगेन राहत लिए । ‘भन्न त गृहमन्त्रीले मिडियामा राहत दिएको छु भनेर बोलेको सुनेँ,’ दिनेशले भने, ‘तर, हामीले पाएनौँ । अब के खाउँ, कसरी बाँचौँ भन्ने चिन्ता छ ।’
सरकारले राहत वितरण गरिरहेको तस्बिर उनले देखेका छन् । तर, उनको हात रित्तै छ ।
यता, देवीघाटकी रोशनी श्रेष्ठलाई पनि उस्तै भएको छ । त्यसैले उनी चिनेजानेकाको घरमा पुगेर खानेकुरा माग्छिन् । ‘हाम्रो खानेकुरा केही पनि छैन,’ उनले भनिन्, ‘चिनेजानेकाकोमा गएर मागेर खाँदैछौँ । सरकारले राहत दिएन ।’
कहिलेसम्म अरूको घरमा गएर माग्ने ? आक्रोशित हुँदै रोशनीले प्रश्न गरिन् ।
उनकी आमा भने १० भदौमा संयोगले बाढीबाट जोगिइन् । बाढी आउनुअघि नै त्रिशूली बजारतर्फ गएकी उनी त्यसपछि गल्छी हुँदै काठमाडौं पुगेकी छन् ।
बाढीले घर र गाउँ सखाप पारेपछि उनी अझै फर्किन सकेकी छैनन् ।
उनले पनि सिम्बुटारका वीरबहादुर र दिनेशलेजस्तै राहत पाएका छैनन् । ‘स्थानीय सरकार र विभिन्न संघसंस्थालाई राहत नदिनू, हामी नै दिन्छौँ भनेको रहेछ,’ उनले भनिन्, ‘तर, आएन अहिलेसम्म ।’
उसो भए राहत कहाँ गयो ?
रसुवा र नुवाकोटको बाढीपछि सरकारले राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गरेको जनाएको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत राहत संकलन र वितरणको व्यवस्थापन गर्ने घोषणा गरेको थियो ।
सरकारले राहत वितरण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङ बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा बसेर राहत वितरणको काम भइरहेको बताइरहेका छन् । राहत वितरणका तस्बिरहरू सार्वजनिक भएका छन् ।
सरकारी विवरणमा हजारौँ प्रभावितलाई राहत र आश्रय दिइएको उल्लेख छ । तर, सिम्बुटारका वीरबहादुरको हात रित्तै छ । दिनेशको भान्सा रित्तै छ । रोशनी अरूको घरमा खाना मागिरहेकी छन् ।
बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस नुवाकोट सभापति रमेश महत राहत सामग्रीको अभाव नभएको बताउँछन् । उनका अनुसार राहत सामग्री बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा जम्मा गरिएको छ ।
त्यहाँबाट विभिन्न ‘हामी नेपाली’ संस्थामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ । तर, रोशनीको थालसम्म पुगेन । विपदमा राहतले गोदाम होइन, पीडितको पेट भरिनुपर्छ ।
तर, त्रिशूली किनारका धेरै पीडित अहिले पनि यही पीडा भोगिरहेका छन् ।
सरकारहरूबीच आरोप
राहत वितरणलाई लिएर केन्द्र, प्रदेश र स्थानीय सरकारबीच पनि असमझदारी देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले एकद्वार प्रणालीको नाममा प्रदेश र स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरिएको गुनासो गरेका छन् । तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ ।
उता, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय र प्रदेश सरकार बाढीलगत्तै ‘एक्टिभ’ नभएको भनेर दोष दिइरहेका छन् । उनले केन्द्र सरकारलाई दुवै तहको सरकारले असहयोग गरेको भनेर पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् ।
राजनीतिक दलहरूले एकअर्कालाई असहयोगको आरोप लगाइरहेका छन् । तर, सिम्बुटारका पीडितलाई कसले कसलाई दोष दियो भन्ने कुरासँग मतलब छैन । उनीहरूलाई राहत चाहिएको छ । बस्ने ठाउँ चाहिएको छ । बाँच्ने आधार चाहिएको छ ।
