मेलोनी बनिन् युद्धपछिको इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेतृ
काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि देशमा लगातार सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाएकी छन्।
मेलोनी बिहीबार १ हजार ४१३ दिन लगातार प्रधानमन्त्री पदमा रहेसँगै यसअघि सिल्भियो बर्लुस्कोनीको नाममा रहेको कीर्तिमान तोड्न सफल भएकी हुन्। उनको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धन इटालीको युद्धपछिको इतिहासमा सबैभन्दा लामो समय निरन्तर सत्तामा रहने सरकार बनेको हो।
सन् २०२२ अक्टोबर २२ मा प्रधानमन्त्री बनेकी मेलोनी इटालीको प्रधानमन्त्री पदमा पुग्ने पहिलो महिला पनि हुन्। राजनीतिक अस्थिरताका लागि परिचित इटालीमा उनको सरकारले झण्डै चार वर्षको कार्यकाल पूरा गरेको छ।
मेलोनीले यो कीर्तिमान कायम गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन्। मोदीले मेलोनीको उपलब्धि इटालीका जनताको उनको नेतृत्वप्रतिको विश्वास र भरोसाको प्रतिबिम्ब भएको बताएका छन्। साथै भारत–इटाली विशेष रणनीतिक साझेदारीलाई थप बलियो बनाउन मेलोनीको मित्रता महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
यसै वर्ष जुन १० मा भारतीय प्रधानमन्त्री मोदीले पनि भारतमा लगातार सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमान बनाएका थिए। उनले ४ हजार ३९९ दिनको लगातार कार्यकाल पूरा गर्दै जवाहरलाल नेहरूको ४ हजार ३९८ दिनको कीर्तिमान उछिनेका थिए।
यद्यपि नेहरू स्वतन्त्र भारतका प्रधानमन्त्रीका रूपमा कुल कार्यकालको हिसाबले अझै लामो समय पदमा रहेका प्रधानमन्त्री हुन्। मोदीको नयाँ कीर्तिमान भने लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा रहेको हो।
