‘ग्रीन आर्मी’बारे ओलीको प्रश्न- ७० हजारलाई बुट र चुस्ता लगाउने खर्च कहाँबाट आयो?[भिडियो]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला चर्चामा आएको ‘ग्रीन आर्मी’को गठन, तालिम, आर्थिक स्रोत र भूमिकामाथि प्रश्न उठाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले विगतका ठूला विपद्का समयमा समेत नदेखिएको संस्था अहिले अचानक सक्रिय भएको भन्दै यसको पृष्ठभूमि स्पष्ट हुनुपर्ने बताए।
‘म प्रधानमन्त्री भएका बेला यो संस्था दर्ता गरिएको भन्ने कुरा पनि आएको छ,’ ओलीले भने, ‘कसले के-के संस्था दर्ता गर्छ, त्यसका लागि प्रधानमन्त्रीको आदेश चाहिन्छ र ? मेरो नाम त्यहाँ किन ल्याइएको हो ?’
उनका अनुसार २०७२ सालको भूकम्प, कोभिड महामारी, गत वर्षको रसुवाको बाढी तथा जेनजी आन्दोलनका बेला ‘ग्रीन आर्मी’ नामको संगठन सार्वजनिक रूपमा सक्रिय थिएन। त्यसैले अहिले विपद्को समयमा यसको उपस्थितिलाई सामान्य रूपमा लिन नसकिने ओलीको भनाइ छ।
‘ग्रीन आर्मी’लाई नेपाली सेना तथा सुरक्षा निकायबाट तालिम दिइएको भन्ने विवरण आएको भन्दै ओलीले त्यसको खर्च र स्रोतबारे समेत सरकारसँग जवाफ मागेका छन्।
विशेषगरी ठूलो संख्यामा सदस्य रहेको दाबीप्रति प्रश्न गर्दै उनले हजारौँ व्यक्तिलाई बुट, चुस्ता र अन्य सामग्री उपलब्ध गराउन आवश्यक पर्ने रकम कहाँबाट आयो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए।
‘सङ्ख्या ७० हजार भएको दाबी आएको छ। ७० हजार बुट, चुस्ता र अरू परिचालनका खर्च कसले बेहोरेको छ ? यसको स्रोत के हो ?’ ओलीले प्रश्न गरे।
कतिपयको पोसाकमा दर्ज्यानी चिन्हजस्तो देखिने सामग्रीसमेत रहेको उल्लेख गर्दै उनले सुरक्षा निकायबाट तालिम दिइएको भए त्यसको निर्णय र खर्चको आधार सार्वजनिक गर्नुपर्ने बताए।
संस्था दर्ता गर्ने छुट्टै कानुनी प्रक्रिया र सम्बन्धित निकाय रहेको उल्लेख गर्दै ओलीले दर्ताको विषयलाई आफ्नो प्रधानमन्त्रीकालसँग जोडेर प्रचार गर्नुको अर्थ नरहेको बताए।
