`

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर

Nepal One HD १९ भदौ २०८३ १७:०४
फिचर

काठमाडाैं। त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका केही बस्तीको आवतजावत फेरि पुरानै शैलीमा फर्किएको छ। वारिपारि जोड्ने पुल नहुँदा स्थानीयको दैनिकी अहिले तुइनमा अडिएको छ।

विदुर नगरपालिका-१ इन्द्रायणी चौरदेखि विदुर-९ कोलनी र गुम्बाडाँडा क्षेत्र जोड्न भदौ १५ गते तुइन हालियो। बाढीले सडक र पुलको सम्पर्क टुटाएपछि तत्कालका लागि यही तुइन स्थानीयको भरपर्दो माध्यम बनेको छ।

तुइनबाट मानिसहरू वारिपारि ओहोरदोहोर गरिरहेका छन्। बिरामीका लागि औषधि लैजानदेखि दैनिक उपभोगका अत्यावश्यक सामग्री ढुवानीसम्म यही माध्यम प्रयोग भइरहेको छ। जोखिम मोलेर भए पनि स्थानीयलाई आफ्नो दैनिकी चलाउन तुइनको सहारा लिनुपर्ने बाध्यता छ।

देवीघाट बजार क्षेत्रमा पनि अर्को तुइन तयार पारिएको छ। बाढीले भत्काएको आवागमन पुनः सहज बनाउन तत्कालीन विकल्पका रूपमा बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा तुइन निर्माण अघि बढाएको हो।

स्थानीय तहसँग समन्वय गरेर आवतजावत पूर्ण रूपमा सहज नभएका अन्य स्थानमा पनि तत्कालका लागि तुइन निर्माण गर्ने प्रदेश सरकारको तयारी छ।

पक्की पुलले जोडिएको बाटो बाढीले एकैछिनमा भत्काएपछि नुवाकोटका स्थानीय फेरि डोरीको सहारामा नदी वारपार गर्न बाध्य छन्। आधुनिक सडक र पुलको पहुँचमा अभ्यस्त भइसकेका उनीहरूका लागि अहिलेको तुइन केवल आवतजावतको साधन होइन, बाढीले थलिएको दैनिकीलाई जसोतसो अघि बढाउने बाध्यता बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *