`

श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार

Nepal One HD १९ भदौ २०८३ २१:१०
जीवनशैली/स्वास्थ्य

भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राङ्गणमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएपछि खुसी देखिनुहुन्थ्यो ।

श्रीमानलाई आफ्नो आधा कलेजो काटेर प्रत्यारोपण गरेपछि सकुशल घर जान पाएकामा ३३ वर्षीया श्रीमती मीनाकुमारी यादव झनै खुसी देखिनुहुन्थ्यो ।

बालगोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँुदा जीवनमरणको सङ्घारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउने अठोट व्यक्ति गर्दै मीनाकुमारी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनुभएको थियो ।

केन्द्रका चिकित्सकले यही भदौ ८ गते मीनाकुमारीको आधा कलेजो काटेर श्रीमान् बालगोविन्दलाई प्रत्यारोपण गरेपछि उहाँहरू आज डिस्चार्ज भएर घर फर्किनुभएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले जानकारी दिनुभयो । केन्द्रले यो ३९औँ कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

शल्यचिकित्सक डा रामबाबु साहकोे नेतृत्वमा ६० जना विशेषज्ञ चिकित्सक, नर्सलगायतको समूहले सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । प्रत्यारोपण केन्द्रले १४ वर्षको अवधिमा एक हजार ६८० जनाको मिर्गाैला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरी सकेको केन्द्रका कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउनपर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करिब दुई तिहाई) प्रत्यारोपण गर्दै आएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *