प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी
काठमाडौँ – प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम सङ्कलनको क्रम जारी छ । स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, जनप्रतिनिधि, आमनागरिक, कर्मचारीलगायतले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको रखोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गरिरहेका छन् ।
सोही क्रममा आज लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीबाट प्रभावितलाई लागि रु २० लाख ११ हजार १११ सहयोग गरेको छ । लोकप्रिय रेस्टुरेन्टले यही १६ गते आफ्ना कलङ्की, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै बिक्री केन्द्रबाट बिक्री भएको १०० प्रतिशत रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो ।
त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यले प्रतिव्यक्ति रु एक लाख योगदान गर्नुभएको थियो । सङ्कलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आबद्ध गुल्मी जिल्लाका विभिन्न यातायात व्यवसायी प्रालिले आज महासङ्घमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख एक हजार सहयोग गरेका छन् । गुल्मी यातायात प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठको पहलमा सङ्कलन गरिएको उक्त रकम आज महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडाले अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलालाई हस्तान्तरण गर्नुभयो ।
गुल्मी जिल्लामा सञ्चालित गुल्मी यातायात प्रालिले रु तीन लाख ५१ हजार, आगन सेवा यातायात प्रालिले रु ५० हजार, मैत्री यातायात प्रालिले रु ५० हजार र रुरु रेसुङ्गा प्रालिले रु ५० हजार सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा महासङ्घका अध्यक्ष सिटौलाले सङ्कटको घडीमा यातायात व्यवसायीले देखाएको यो सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो ।
त्यस्तै, रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवनले रु तीन लाख ८६ हजार ५२५ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । कार्यालयले विभिन्न समयमा सञ्चालन गरेका सीपमूलक तालिममा उत्पादित तथा स्टोरमा रहेका कपडा र जुत्ता, चप्पल छनोट गरी जिल्ला प्रशासन कार्यालय चितवनको राहत सङ्कलन केन्द्रमार्फत बाढी प्रभावितका लागि उपलब्ध गराएको हो ।
कार्यालय प्रमुख विनोद पौडेलका अनुसार कार्यालयले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादित सामग्रीमध्ये कुल एक हजार २७ थान कपडा र ११६ जोर जुत्ता, चप्पल राहतस्वरूप हस्तान्तरण गरिएको छ । उहाँका अनुसार सीपमूलक तालिम सञ्चालन गर्दा प्रयोग हुने कच्चा पदार्थ कार्यालयले उपलब्ध गराउने व्यवस्था छ ।
साथै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी बाढीबाट प्रभावित पत्रकारलाई रु एक लाख नगद सहयोग गरेको छ । बाढीका कारण घरबार गुमाएका, प्रभावित भएका तथा सम्पर्कविहीन पत्रकार र उनीहरूका परिवारलाई भेटेरै तथा सम्बन्धित शाखामार्फत सहयोग रकम उपलब्ध गराइएको महासङ्घका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो ।
त्यसैगरीm तनहुँको आँबुखैरेनी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका चार जना नागरिकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले सम्पर्कविहीन नागरिकको खोजीमा परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिपरिवार रु २५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । खोजी, उद्धार, शव व्यवस्थापनलगायत विपद् व्यवस्थापनका सम्पूर्णमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
