इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा छ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन् ।
भाइर्गो ट्रान्सपोर्ट ८ नामक डुङ्गामा २४३ यात्री र चालक दल थिए । यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आइतबार बिहानै आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो ।
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासार्नासले पछिल्लो अपडेटमा छ जनाको मृत्यु र १३० जना बेपत्ता रहेको जनाएको छ। समाचार तयार पार्दासम्म १०७ जनालाई उद्धार गरिएको छ ।
उद्धार संस्थाका अनुसार जहाजमा २१३ यात्री र ३० चालक दलका सदस्य थिए।
इन्डोनेसियाका यातायात मन्त्री डुडी पुर्वागान्धीले जहाज पानीमा पल्टिएको बताउनुभयो ।
“हामीले प्राप्त गरेको जानकारी अनुसार हेलिकोप्टर निगरानीबाट जहाज पल्टिएको देखिन्छ तर डुबेको छैन। दिउँसो ३ बजेसम्म यो अझै डुबेको थिएन, तर पल्टिएको अवस्थामा छ,” उहाँले बन्जरमासिनमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
स्थानीय खोज तथा उद्धार प्रमुख आई पुटु सुदायनाले जहाजको कप्तानले सम्पर्कविहीन हुनुअघि मालिकलाई जहाज पानीमा ‘ढलिकरहेको’ बताएको यसअघि एएफपीलाई जानकारी दिनुभएको थियो ।
उद्धारकर्ताहरूले २.५ मिटर (८.२ फिट) सम्मका छालसँग जुधेर फेरीसम्म पुग्नुपरेको सुदायनाले पत्रकारहरूलाई बताउनुभयो ।
“जहाजका लागि यो अत्यन्त जोखिमपूर्ण छ । हाम्रो ४० मिटर लामो बासार्नास जहाज समेत ठूलो जोखिममा छ,” उहाँले भन्नुभयो ।
एउटा बासार्नास हेलिकोप्टर पनि अपरेसनमा सहभागी भएको उहाँले थप्नुभयो ।
जहाजको अन्तिम सम्पर्क जाभा सागरमा, गन्तव्यबाट करिब १५० किलोमिटर (९३ माइल) टाढा पत्ता लागेको थियो ।
बन्जरमासिन समुद्री बन्दरगाह प्राधिकरणका प्रमुख हेरी पुरवान्तोले सवारी साधन पनि रहेको डुङ्गा आइतबार बिहान २ बजे सम्पर्कविहीन भएको बताउनुभयो ।
“हामीले घटनाको रिपोर्टमा छिटो प्रतिक्रिया दियौँ ।अहिले हाम्रो मुख्य ध्यान र प्राथमिकता जहाजमा सवार सबैको सुरक्षा हो र हामी समन्वित उद्धार अपरेसन परिचालन गरिरहेका छौँ,” हेरी पुरवान्तोले भन्नुभयो ।
इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा सुनिने घटना हुन् । कुल १७ हजारभन्दा बढी टापु भएको यो द्वीपसमूहमा दैनिक यातायात र पर्यटनका लागि डुङ्गा यातायातमा धेरै निर्भर छ।
कमजोर सुरक्षा मापदण्ड र अप्रत्याशित मौसम यस्ता विपत्तिका मुख्य कारण हुन्।
