`

जनमत पार्टीको केन्द्रीय सचिवमा चर्चित संगीतकार सन्तोष राज सहनीले उम्मेदवारी दिने

Nepal One HD २ असोज २०८३ ७:०८
राजनीति

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।आगामी असोज १० गते बिरगंजमा हुने जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले केन्द्रीय सचिव पदमा चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन्।

पार्टीको आन्तरिक तयारी र नेताहरूसँगको छलफलपछि उनले सचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताइएको छ।सहनी हाल जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यका साथै सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक समेत हुन्।

पार्टी अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो।सांस्कृतिक गतिविधिमार्फत पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले गठन गरिएको संघको नेतृत्व गर्दै सहनीले सांस्कृतिक क्षेत्रसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिसँगै सहनी नेपाली तथा भोजपुरी संगीत क्षेत्रमा पनि परिचित छन्। उनी नेपाली, हिन्दी र भोजपुरी संगीतकार, गीतकार तथा गायकसमेत हुन्।कलाकारिता पेसासँगै राजनीतिमा सक्रिय रहँदै आएका सहनीले लामो समयदेखि पार्टीको संगठन निर्माण, राजनीतिक गतिविधि तथा विभिन्न अभियानमा काम गर्दै आएका छन्।

सहनीले पार्टीमा युवाहरूको साथ र व्यापक समर्थन रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। पार्टीभित्र आफ्नो बलियो पकड रहेको उल्लेख गर्दै उनले सचिव पदको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज १० गते हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।सोही क्रममा केन्द्रीय सचिव पदका लागि पनि निर्वाचन हुने भएकाले सहनीको उम्मेदवारीलाई पार्टीभित्रको आगामी नेतृत्व चयनसँग जोडेर हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *