‘कांग्रेस विभाजनको डिलमा छ’ भन्दै विष्णु रिजालले सम्झिए एमाले फुटेका दुई घटना
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले विगतमा कांग्रेसले एमाले विभाजनमा भूमिका खेलेको उल्लेख गर्दै अहिले भने कांग्रेस नफुटोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले २०५४ र २०७८ मा एमाले विभाजन भएका घटनाको स्मरण गरेका हुन्।
‘कांग्रेसले एमालेलाई दुईपटक फुटायो। तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस्,’ उनले लेखेका छन्।
रिजालले २०५४ फागुन २१ गते तत्कालीन सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टरमार्फत काठमाडौं आएर एमाले विभाजन गरी नेकपा (माले) दर्ता गराएको दाबी गरेका छन्।
रिजालले सामाजिक सञ्जालमा लेखेका छन् –
कांग्रेसले एमालेलाई दुईपटक फुटायो । तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस् ।
२०५४ फागुन २१ गते सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टर चढेर काठमाडौँ आएर हतार–हतार नेकपा (एमाले) फुटाएर नेकपा (माले) दर्ता गरिदिनुभयो भने २०७८ भदौ ९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले ४० प्रतिशतबाट आधा घटाएर २० प्रतिशत सदस्य भए पार्टी फुटाउन पाउने अध्यादेश जारी गरेर एमाले फुटाइदिनुभयो र नेकपा (एकीकृत समाजवादी) गठन भयो, जुन अध्यादेश असोज ११ गते आफैँ खारेज गर्नुभयो ।
आज कांग्रेस विभाजनको डिलमा उभिएको छ । शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा अलग्गै पार्टी बनाउने मुडमा हुनुहुन्छ । रगत–बखत भएको बेला बनाएको प्रजातान्त्रिक कांग्रेस त गिरिजाप्रसाद कोइरालालाई नै बुझाउनुपर्यो भने अब के पार लाग्ला र ?
