`

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

Nepal One HD ३ असोज २०८३ १८:००
खेलकुद

काठमाडौँ । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो ।सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तरराष्ट्रिय प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी हुने फाउण्डेसनले जनाएको छ ।

एआई रोबोटिक्सको प्रयोग गरी संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न नवीन समाधानसहित कार्यक्रम तथा कार्ययोजना निर्माणमा प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने प्रक्रियामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परिवर्तित विश्वपरिवेशमा आलोचनात्मक सोच, सिर्जशीलता, सहकार्य एवं सञ्चार गरी चार महत्वपूर्ण सीप र क्षमता विकासमा जोड दिने नीतिसहित नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा तथा विश्वव्यापी ऊर्जा सङ्कटसम्बन्धित चुनौतीको समाधान गर्न रोबोटिक्स तयार गर्ने र फुटबल खेल्ने रोबोटिक्स तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

उनका अनुसार गत वर्ष इण्डोनेसियाको जाकार्तामा सम्पन्न प्रतियोगितामा नेपालका पाँच हजार विद्यार्थीबाट छनोट भएका ९५ जना सम्मिलित ४० टोलीले भाग लिएको, ६ वटा कीर्तिमानी अन्तर्राष्ट्रिय उपाधि जितेको र विश्वका ३० उत्कृष्टभित्र नेपालका तीन वटा प्रोजेक्ट पर्न सफल भएको थियो ।

जाकार्ताका साथै यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थीसहित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थीसहित १९ टोलीले ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा भाग लिई उल्लेखनीय परिणाम ल्याउन सफल नेपालले यसपटक १० उत्कृष्ट मुलुकभित्र पर्नका लागि आवश्यक तयरी गरिहेको फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *