स्वर्णिम वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालले उठाए प्रश्न, ‘सरकारी हो कि निजी ?’
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको औपचारिकता र उद्देश्यबारे प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले वाग्लेको भारत भ्रमण सरकारी वा निजी कुन प्रकृतिको हो भन्ने स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि हो कि अर्थमन्त्रीको व्यक्तिगत सम्बन्ध विस्तारका लागि भन्दै प्रश्न गरेका छन्।
‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बहुप्रचारित भारत भ्रमण सरकारी हो कि निजी हो ? राष्ट्रको सम्बन्ध विस्तारका लागि हो कि उहाँको व्यक्तिगत सम्बन्ध विस्तारका लागि हो ?’ रिजालले लेखेका छन्।
नेपाल र भारत दुवैतर्फबाट भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक नगरिएको रिजालको दाबी छ। उनले परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका वेबसाइटमा भ्रमणसम्बन्धी वक्तव्य नरहेको तथा भारतीय विदेश मन्त्रालयबाट पनि औपचारिक वक्तव्य नआएको उल्लेख गरेका छन्।
तर, भारतीय विदेश मन्त्रालयका अनुसार वाग्लेको भ्रमणका क्रममा भारतले नेपालमा हालै आएको बाढीपछि राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटमा आर्थिक, ऊर्जा र कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको सार्वजनिक विवरणमा उल्लेख छ।
रिजालले भने भ्रमण आकस्मिक रूपमा आयोजना गरिएको र तीव्र प्रचार–प्रसार गरिएको टिप्पणी गर्दै यसको औपचारिक कार्यसूची र उपलब्धिबारे पर्याप्त जानकारी सार्वजनिक नभएको प्रश्न उठाएका छन्।
‘आकस्मिक रूपमा आयोजना गरिएको, तीव्र प्रचार–प्रसार गरिएको र भारतमा सार्वजनिक व्यक्तित्व निर्माण गर्न उहाँका नयाँ–पुराना सबै मित्रहरू मैदानमै जुटेको त देखियो तर भ्रमणको औपचारिक कार्यसूची र उपलब्धि चाहिँ के रहेछ भन्ने देख्न, सुन्न, पढ्न पाइएन,’ उनले लेखेका छन्।
