एआईले २०३० मै मानव जाति सखाप पार्दै !
काठमाडौं । एनभिडियाका सीईओ जेन्सन ह्वाङले आगामी दशकभित्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण मानव जातिको अस्तित्व समाप्त हुन सक्ने चेतावनीलाई ‘भ्रामक र काल्पनिक’ बताएका छन्।
उनले सन् २०३० मै संसारको अन्त्य हुने सम्भावना शून्य प्रतिशत रहेको दाबी गरे। एआईका कारण मानिसमा अनावश्यक डर फैलाउनु गैरजिम्मेवारपूर्ण हुने उनको भनाइ छ।
पछिल्ला केही सातादेखि एआईको सम्भावित जोखिमलाई लिएर प्रविधि क्षेत्रमा बहस चर्किएको छ। पूर्व एन्थ्रोपिक शोधकर्ता ज्याकब कक्सनले एआई विकासकर्ताहरूले नै यो प्रविधिले दशकको अन्त्यसम्ममा ठूलो मानवीय क्षति पुर्याउन सक्ने विश्वास गरेको दाबी गरेका थिए।
त्यसपछि एन्थ्रोपिकका सीईओ डारियो अमोदेई र ओपनएआईका सीईओ साम अल्टम्यानसहित केही प्रविधि क्षेत्रका प्रमुखले एआई विकासको गति सुस्त बनाउनुपर्ने धारणा राखेका छन्।
तर ह्वाङले यस्ता भविष्यवाणीलाई वैज्ञानिक आधारबिनाको दाबीका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार एआई विकासलाई जिम्मेवार र सुरक्षित बनाउनु एनभिडियाकै व्यावसायिक हितमा छ।
‘हाम्रो कम्पनीको सफलता उत्पादन र सेवाको सुरक्षित प्रयोगसँग प्रत्यक्ष जोडिएको छ। यदि हामीले त्यसो गर्न सकेनौँ भने हाम्रो मूल्य घट्नेछ,’ ह्वाङले भने।
ह्वाङले एआईको विकास सुस्त बनाउनुपर्ने माग गर्ने केही कम्पनीको उद्देश्यप्रति पनि प्रश्न उठाएका छन्।
उनका अनुसार कतिपय कम्पनी नयाँ कानुनी व्यवस्था आउन नदिनेभन्दा पनि विद्यमान कानुनी दायित्वबाट उम्किन खोजिरहेका हुन सक्छन्। एआईबाट हुन सक्ने क्षति र त्यसको कानुनी जिम्मेवारीबाट बच्ने प्रयास नै वास्तविक समस्या हुन सक्ने उनको संकेत छ।
एनभिडिया एआई मोडल निर्माणका लागि आवश्यक पर्ने अत्याधुनिक कम्प्युटर चिप्सको प्रमुख आपूर्तिकर्तामध्ये एक हो।
एआई चिप्सलाई लिएर अमेरिका र चीनबीचको प्रतिस्पर्धाले एनभिडियालाई समेत प्रत्यक्ष प्रभाव पारेको छ।
अमेरिकाले चीनको सैन्य र एआई क्षमताको विकास सीमित गर्ने उद्देश्यले अत्याधुनिक चिप्सको निर्यातमा कडाइ गर्दै आएको छ। चीनले भने स्वदेशी प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइरहेको छ।
यसैबीच एआई, भन्सार महसुल र महत्त्वपूर्ण खनिजबारे अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच न्युयोर्कमा वार्ता भएको छ। वार्तामा एआई सुरक्षासम्बन्धी सूचना आदानप्रदानका लागि नयाँ संयन्त्र बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
बेलायतका राजा चार्ल्सले हालै प्रविधि क्षेत्रका नेताहरूसँगको कार्यक्रममा एआईको सम्भावित अस्तित्वगत जोखिमप्रति सचेत हुन आग्रह गरेका थिए।
उनले प्रविधिको विकास मात्र पर्याप्त नभएको भन्दै एआईलाई मानव जाति, समुदाय र प्राकृतिक संसारको हितमा प्रयोग गर्नुपर्ने बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआईको विकास रोक्ने मागप्रति असहमति जनाउँदै आएका छन्। सेप्टेम्बर १४ मा लस एन्जलसमा आयोजित प्रविधि सम्मेलनमा ह्वाङले सम्बोधन गरिरहेका बेला ट्रम्पले फोनमार्फत एआई विकास रोक्ने मागको आलोचना गरेका थिए।
यसरी एआईको जोखिमलाई लिएर प्रविधि क्षेत्रभित्रै फरक धारणा देखिएका छन्। एक पक्षले तीव्र विकाससँगै सम्भावित जोखिम नियन्त्रण गर्नुपर्ने बताइरहेको छ भने ह्वाङजस्ता प्रविधि उद्योगका प्रमुखले अतिरञ्जित भविष्यवाणीबाट डर फैलाउन नहुने तर्क गरिरहेका छन्।
