ओलीको चेतावनी : भ्रमको पछि नलाग्नू, पार्टीभित्रका कुरा मिडियामा नपोख्नू
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध फैलाइएका भ्रम र कुप्रचारको पछि नलाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले जनतामा एमालेबारे केही भ्रम र अलमल रहेको भन्दै त्यसलाई चिर्दै अघि बढ्नुपर्ने बताए।
‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ,’ ओलीले भने, ‘जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने र कुप्रचारलाई मलजल गर्ने काम हाम्रो पंक्तिले गर्नु हुँदैन।’
विरोधीले प्रशंसा वा वाहवाही गरेकै आधारमा पार्टीका नेता–कार्यकर्ता बहकिन नहुने उनको भनाइ थियो।
ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनताप्रति पनि असन्तुष्टि जनाए। पार्टीका आन्तरिक बहस कमिटीभित्रै गर्नुपर्ने भन्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट नेतृत्वमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाए।
‘पार्टीभित्रका बहस कमिटीभित्रै हुनुपर्छ। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्दै हिँड्ने को न्यायाधीश हो ?’ ओलीले प्रश्न गरे।
सामाजिक सञ्जालमा सांकेतिक वा आपत्तिजनक अभिव्यक्ति दिने र त्यसबाट पार्टीको प्रतिष्ठा कमजोर बनाउने कामले विपक्षीलाई फाइदा पुग्ने उनको भनाइ थियो।
महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाबाट पार्टीको नीति, विचार र नेतृत्व चयन गरिसकेको उल्लेख गर्दै ओलीले पार्टीभित्र अराजकता स्वीकार्य नहुने बताए।
ओलीले वर्तमान सरकारको कार्यशैलीको पनि आलोचना गरे। उनले सरकार असफल, अक्षम र अकर्मण्य भएको आरोप लगाए।
बाढीपहिरोजस्ता विपद्का बेला बेलीब्रिज निर्माण हुन नसकेको तर एआईबाट तयार पारिएका नक्सा तथा तस्बिर सार्वजनिक गरेर राज्यस्तरबाटै भ्रम फैलाउने काम भएको उनको दाबी थियो।
देश, लोकतन्त्र, संविधान र एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गर्दै ओलीले एमाले राष्ट्रियताको पक्षमा उभिएकै कारण निशानामा परेको बताए।
उनले पक्राउ पुर्जी जारी गर्ने, नेताहरूलाई हिरासतमा राख्ने र वाक् स्वतन्त्रतामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाउँदै यस्ता गतिविधि अधिनायकवादतर्फको यात्रा भएको दाबी गरे।
ओलीले केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ हुनुमा पार्टीले गठन गरेको कार्यदलको प्रतिवेदन ढिलो आउनु पनि एउटा कारण भएको बताए।
पार्टीलाई नयाँ गति दिने विषयमा छलफल गर्न कार्यदल गठन गरिएको उल्लेख गर्दै उनले एक महिनाका लागि तोकिएको समय चार महिनासम्म लम्बिएको बताए।
‘हामी कार्यदल बनाउनतिर लाग्यौँ। त्यो कति उपयुक्त गर्यौँ, गरेनौँ, अहिले त्यसको धेरै समीक्षामा पनि नजाऔँ। त्यो बनाइसक्यौँ। त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो,’ ओलीले भने।
कार्यदलको काम नसकिएका कारण सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नसमेत ढिलाइ भएको उनको भनाइ थियो।
‘कार्यदलकै बैठक चलेको छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन। कार्यदलको प्रतिवेदन बिना सचिवालय बस्न सक्दैन। सचिवालय नबसीकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो,’ ओलीले भने।
कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयले त्यसलाई ग्रहण गरेको र त्यही प्रतिवेदनलाई आधार बनाएर आफूले राजनीतिक प्रतिवेदन तयार पारेको ओलीले बताए।
केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा, पार्टीको आगामी रणनीति, संगठनात्मक विषय र पार्टीलाई नयाँ गति दिने उपायबारे छलफल हुने एमालेले जनाएको छ।
