अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी
इरान । इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा नयाँ लक्ष्यमा प्रहार गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ । यद्यपि कुनै पनि पक्ष पूर्णस्तरको युद्धमा फर्कन इच्छुक देखिँदैनन् ।
इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोर्प्सका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन् ।”
“हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौँ र यसले विश्वलाई चकित पार्नेछ,” उनले थपे ।आफ्ना लक्ष्यहरू पनि पहिले जस्तै नहुने बताउँदै गाड्र्सले आफूसँग अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू रहेको र आफूहरू दीर्घकालीन युद्धका लागिसमेत तयार रहेको जनाएको छ ।
सरकारी टेलिभिजनका अनुसार शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो । तर यसको विस्तृत विवरण भने दिइएको थिएन ।
गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबीचको लडाइँ केही मत्थर भएको छ । यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ ।
दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एकअर्काविरुद्ध नाकाबन्दी कायम राखेका छन् ।हाल युद्ध यमनसम्म फैलिएको छ । त्यहाँ इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी–समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् भने राजधानी रियाद लगायत साउदीका विभिन्न लक्ष्यमा आक्रमणहरू गरिरहेका छन् ।
