`

जापानमा टाइफुनका कारण २७५ उडान रद्द

Nepal One HD ५ असोज २०८३ १२:४६
विश्व

एजेन्सी । टाइफुन डुजुआन टोकियोतर्फ अघि बढेसँगै जापानमा जनजीवन प्रभावित भएको छ । सोमबार मात्रै कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले मंगलबारसम्म केही क्षेत्रमा सेप्टेम्बर महिनाको औसत वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ । चिबा प्रान्तमा चार हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ ।

जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको जनाएको छ । साथै, अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेको छ ।

मौसम एजेन्सीका अनुसार टाइफुनसँगै वर्षा र हावाको गति अझ तीव्र हुने सम्भावना छ । केही क्षेत्रमा रेकर्ड स्तरको भारी वर्षा हुनसक्ने चेतावनीसमेत दिइएको छ । 

टोकियोबाट करिब ११० किलोमिटर टाढा रहेको हचिजोजिमानजिक पुग्दा टाइफुनको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको थियो ।

भारी वर्षाका कारण पहिरोको जोखिम बढेकाले स्थानीय अधिकारीहरूले बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *