ओली हटाउने प्रस्ताव पहिल्यै अस्वीकृत : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोष दिएर पार्टीभित्रको समस्या समाधान नहुने बताएका छन्।
थापाले अध्यक्ष ओलीले ‘मार्ग प्रशस्त गर्नुपर्ने’ प्रस्ताव पार्टीको विभिन्न तह हुँदै ११औँ महाधिवेशनमा समेत ७५ प्रतिशत मतबाट अस्वीकृत भएको दाबी गरेका छन्। महाधिवेशनबाट अस्वीकृत विषयलाई निरन्तर सञ्चारमाध्यममा उठाएर राजनीतिक माहोल बनाउन खोज्नु उचित नभएको उनको भनाइ छ।
उनले नेतृत्व परिवर्तन मात्रै समस्याको समाधान नभएको बताएका छन्। नेतृत्व हस्तान्तरण नै समाधान हो भन्ने हो भने पहिलो र दोस्रो पुस्ताका साथै सचिवालयमा रहेका नेताहरूले समेत तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्ने थापाले बताएका छन्।
निर्वाचनमा पार्टी पराजित हुनुका कारण खोज्नुपर्नेमा कार्यदल ‘को जिम्मेवार हो’ भन्ने विषयमा मात्रै केन्द्रित भएको उनको आरोप छ। कार्यदलले दिएका धेरै सुझाव संयोजक र सदस्य सचिवको प्रतिवेदनमा समेटिन नसकेको पनि थापाले बताएका छन्।
अध्यक्ष ओलीलाई मात्रै दोष दिएर आफूहरू जिम्मेवारीबाट पन्छिन नहुने भन्दै थापाले ‘ओलीको अनुहार लिएर जनतामा जान सकिँदैन’ भन्ने भाष्य पार्टीविरोधी शक्तिहरूको योजनाबद्ध भ्रममा परी भएको दाबी गरेका छन्। उनका अनुसार अहिले त्यस्तो प्रवृत्तिको अन्त्य भएको छ।
निर्वाचनको मुखमा भएको महाधिवेशनमा दुईवटा प्यानल बनाएर नेतृत्व चयन गर्नुको मूल्य पार्टीले प्रतिनिधिसभा निर्वाचनमा चुकाउनुपरेको पनि थापाले बताएका छन्।
अध्यक्ष ओलीको पक्राउ प्रकरणबारे पनि थापाले टिप्पणी गरेका छन्। उनले बालेन्द्र शाह नेतृत्वको सरकारले ओलीलाई पक्राउ गर्नु दुर्व्यवहार मात्रै नभई ‘देशी-विदेशी षड्यन्त्रको एउटा कडी’ भएको दाबी गरेका छन्। उक्त घटनाका विषयमा पार्टीभित्र एउटै स्पष्ट बुझाइ बन्न नसक्नु कमजोरी भएको उनको भनाइ छ।
थापाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र स्पष्ट रहेको बताएका छन्। उक्त प्रतिवेदन पार्टीको पुनर्जागरणमा केन्द्रित रहेको उनको दाबी छ।
