`

मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

Nepal One HD ९ असोज २०८३ ६:३८
समाचार

कर्णाली । कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबारको बैठकले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट सर्वसाधारणलाई बचाउन कर्णाली प्रदेशवासीलाई आग्रह गरेको हो ।

आइतबारसम्म भारी वर्षा हुने सम्भावित जोखिमबाट सजग रहन र आवश्यक पूर्वतयारी अपनाउन सबै तहबिच आवश्यक सञ्चार र समन्वय गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

उनका अनुसार प्रदेशका जोखिमयुक्त सडक र राजमार्ग पहिचान गरी रातिको समयमा यातायात सञ्चालनमा रोक लगाउने र अन्य सुरक्षित व्यवस्था मिलाउने कार्य सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले गर्नेछ ।

प्रतिकूल मौसमी जोखिम हुने अवस्थाको मध्यनजर गरी रातिको समयमा बाढी तथा पहिरोले सडक अवरुद्ध हुने मात्र नभई सवारीसाधन पुरिने तथा यात्रु अलपत्र पर्ने जोखिम उच्च हुने भएकाले सावधानी अपनाउने निर्णय गरिएको प्रदेश सचिव विकले बताए ।

मुख्यमन्त्री मङ्गलबहादुर शाहीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेशका दश वटै जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने र विपद् जोखिमको प्रतिकार्यका लागि सुरक्षा निकायलाई पूर्वतयारी अवस्थामा रहन आवश्यक निर्देशन दिइएको बताए ।

उहाँका अनुसार कर्णाली तथा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्गलगायत प्रदेशका प्रमुख सडक तथा स्थानीय सडकमा आवश्यक निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । खोलामा पानीको बहाव बढ्न सक्ने स्थान, पहिरोको जोखिममा रहेका सडक र विगतमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पहिचान गरी उच्च निगरानीमा राख्न भनिएको छ ।

भारी वर्षाका कारण सडक अवरुद्ध भए तत्काल सडक खुलाउने, यात्रुको उद्धार गर्ने, आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन प्रदेश सरकारले सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *