`

झापामा बाढी–डुबानको जोखिम बढेपछि पहिलोपटक ड्रोन प्रयोग

Nepal One HD १० असोज २०८३ ७:२१
समाचार

झापा। बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि शुक्रबार ड्रोन प्रयोगमा ल्याएको हो ।

डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताउनुभयो । “जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ ।

शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको र शुक्रबारसाँझतिर जलसतह घटेको उहाँले जानकारी दिनुभयो ।

“इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टममार्फ’त जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *