`

प्रधानमन्त्री बालेनको अपिल- ‘खतरा अझै टरेको छैन, अत्यावश्यकबाहेक यात्रा नगर्नुहोस्’

Nepal One HD ११ असोज २०८३ २०:३८
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले जोखिम अझै कायमै रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले असोज ९ देखि १२ गतेसम्म भारी वर्षा तथा हावाहुरीको पूर्वानुमानपछि सरकारले पूर्वसावधानीका लागि नागरिकलाई सार्वजनिक अपिल गरेको बताएका छन् । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्टको बैठक राखी निरन्तर सूचना सम्प्रेषण, रात्रीकालीन यातायात रोक्ने तथा विद्यालय बन्द गर्ने लगायतका सावधानीका निर्णय गरिएको थियो भने ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय बनाइएको थियो ।

प्रधानमन्त्रीका अनुसार असोज ८ गतेदेखि आइतबार साँझसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ । विपद्मा परी पाँच जना घाइते भएका छन् भने उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताएका छन् ।

यसैगरी, पाँच जना बेपत्ता भएको विवरण प्राप्त भएको र मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचनाबारे विवरण संकलन भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ ।

प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको बताएका छन् । प्रभावित परिवारका लागि स्थानीय तहसँगको समन्वयमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

नारायणी नदीमा बाढीले क्रुजसिप बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको उनले बताएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएको तथा भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको र कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

त्यस्तै, बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको उनले जानकारी दिएका छन् । त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको छ ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन् ।

महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उनले जानकारी दिएका छन् ।

हुरीसहितको वर्षाले धानबाली, तरकारीलगायत अन्य कृषि बालीमा समेत क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै संकट परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको भन्दै प्रधानमन्त्री शाहले त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका छन् ।

‘हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *