`

कांग्रेसको क्षेत्रीय अधिवेशन कहिले र कहाँ?

Nepal One HD ११ असोज २०८३ १५:३६
नेपाली कांग्रेस

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन विभिन्न जिल्लामा फरक-फरक मितिमा भइरहेको छ। निरन्तर वर्षाका कारण असोज १० गतेका लागि तय गरिएको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लाको स्थानीय अवस्था हेरेर असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न समय दिएको थियो।

सोहीअनुसार आइतबार १३ जिल्लामा क्षेत्रीय अधिवेशन भइरहेको छ। निर्वाचन समितिका अनुसार झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालीकोट र सुर्खेतमा आइतबार अधिवेशन आयोजना गरिएको छ।

त्यस्तै, सोमबार असोज १२ गते २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुने तय भएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा सोमबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।

यसैगरी असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। इलाममा भने असोज १४ गते अधिवेशन गर्ने तालिका बनाइएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १७ जिल्लाले भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गते नै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गरिसकेका छन्।

वर्षाका कारण निर्धारित मितिमा अधिवेशन गर्न नसकेका अन्य जिल्लालाई पनि असोज १३ गतेभित्र प्रक्रिया पूरा गर्न भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *