इन्जिनियर भुवन भट्टले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं । इन्जिनियर भुवन भट्टले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (युवा तर्फ) उम्मेदवारी घोषणा गरेका छन्। उनले सभापतिमा गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
भट्टले ‘समुन्नत नेपाल र सबल कांग्रेस’का लागि भन्दै १५ वटा प्रमुख एजेण्डा अघि सारेका छन्। उनले युवालाई केवल भविष्यका कर्णधारका रूपमा नभई वर्तमानका निर्णायक साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
उत्पादनमुखी अर्थतन्त्रको विकाससँगै युवालाई त्यसको प्रमुख आधार बनाउने, रोजगारीका अवसर सिर्जना गर्न राज्यलाई दबाब दिने र पार्टीभित्र आवश्यक नीति निर्माण गर्ने उनको एजेण्डा छ। जेनजी आन्दोलनमा नवयुवा पुस्ताले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज र सहज सेवा प्रवाहका मुद्दालाई पार्टीले संस्थागत रूपमा आफ्नो नीति बनाउनुपर्ने उनले बताएका छन्।
भट्टले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा ४० वर्षमुनिका युवाको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी विधानमै व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी र सरकारमा समेत युवाको निर्णायक सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, शिक्षा र स्वास्थ्यको मौलिक हक कार्यान्वयन, विश्वविद्यालयमा आमूल सुधार, युवाका लागि स्टार्टअप र सहुलियतपूर्ण कर्जा, सूचना प्रविधिको विस्तार तथा नेपाललाई मेडिकल र आईटी शिक्षाको हब बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
कृषि आधुनिकीकरण, धार्मिक पर्यटन, जडीबुटी र जलस्रोतको दिगो उपयोग, जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा ‘गाउँ फर्क’ अभियानलाई पनि उनले आफ्नो एजेण्डामा समेटेका छन्।
भट्टले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व र युवाको आवाजलाई नीति तथा निर्णय तहसम्म पुर्याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, ‘अग्रज पुस्ताको अनुभव र संस्कारलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, दृष्टिकोण र विचारलाई नेतृत्वसँग जोड्ने। युवाको आवाजलाई केवल नारामा सीमित नराखी नीति, निर्णय र नेतृत्वको तहसम्म पुर्याउने।’
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
