आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : श्रममन्त्री
सुनसरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन्। इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को उद्घाटन समारोहमा उनले युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्न मेला आयोजना गरिएको बताए।
तालिम लिने युवाले प्रमाणपत्र प्राप्त गर्ने उद्देश्य मात्र नराखी सिकाइ, क्षमता विकास र स्वरोजगारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा मन्त्री यादवले जोड दिए। तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो कि खोलेन तथा रोजगारीबाट जीवनयापन गर्न पुग्ने पारिश्रमिक र उन्नतिको अवसर प्राप्त भयो कि भएन भन्ने विषयलाई सरकारले महत्त्वका साथ हेर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, “शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका युवाको सङ्ख्या घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने आजको आवश्यता हो । हरेक युवालाई सिक्ने, अघि बढ्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ ।” देशका लागि श्रम र पसिना बगाउने प्रत्येक नागरिकले आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै मन्त्री यादवले युवाको सीप, श्रम र सपनालाई अवसरसँग जोड्न रोजगार मेला महत्त्वपूर्ण भएको धारणा राखे।
