सोम पोर्तेलको प्रश्न : उडान ढिलाइको क्षतिपूर्ति कहिलेदेखि?
काठमाडौं । राष्ट्रिय सभा सदस्य सोम पोर्तेलले आन्तरिक हवाई उडानमा ढिलाइ हुँदा यात्रुले पाउने क्षतिपूर्तिको सीमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभामा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै पोर्तेलले उडान ढिला वा रद्द हुँदा यात्रुले भोग्दै आएको सास्तीलाई कानुनले सम्बोधन गर्नुपर्ने बताए।
उनले घण्टौँसम्म विमानस्थलमा यात्रु कुरिरहने र अन्ततः उडान रद्द भएपछि राति घर फर्किनुपर्ने अवस्था रहेको बताए। यस्तो समस्या आफूहरूले पनि पटकपटक भोगेको उनको भनाइ थियो।
पोर्तेलले अहिलेका उडान तालिकामै पनि समस्या रहेको औँल्याए। उनका अनुसार एउटै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि एउटै समयमा उडान राख्ने र अन्य एयरलाइन्सले पनि उही समय तोक्ने गरेका छन्।
‘६ः३० बजे एउटाले उडान राखेको छ, अर्कोले पनि त्यही समय राखेको छ। तीन–चारवटा उडान एकैपटक कसरी उड्छन्?’ भन्दै उनले तालिका निर्माणमै व्यावहारिकता अपनाउनुपर्ने बताए।
उनले उडानमा हुने ढिलाइको क्षतिपूर्ति दाबी गर्न पाउने समय र सीमा पनि कानुनमै स्पष्ट हुनुपर्ने बताए। ‘५ मिनेट ढिला भयो भने पनि क्षतिपूर्ति पाउने हो कि? कति समय ढिलाइ भएपछि क्षतिपूर्ति दाबी गर्न पाउने हो?’ भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
काठमाडौं विमानस्थलमा अवतरणका लागि जहाजहरू आकाशमै होल्ड हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोर्तेलले यस्तो परिस्थितिमा हुने ढिलाइलाई कसरी क्षतिपूर्तिको दायरामा ल्याउने भन्नेबारे पनि स्पष्ट व्यवस्था आवश्यक रहेको बताए।
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संशोधनसहित पारित भइसकेको छ। विधेयकमा उडान ढिलाइ वा रद्द हुँदा यात्रुलाई उपलब्ध गराउनुपर्ने सुविधा तथा क्षतिपूर्तिसहितका विषय नियमावलीमार्फत व्यवस्थित गर्ने व्यवस्था राखिएको छ।
पोर्तेलले विधेयकले यात्रुको समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित गर्न समर्थन जनाएका छन्।
