`

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

Nepal One HD १६ असोज २०८३ १८:०२
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन् ।

संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन् ।

संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन् । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन् ।

सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन् । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *