`

साधारण सभामा म्याद गुज्रिएको चिउरा बाँडेपछि…

Nepal One HD १८ असोज २०८३ ११:५६
बिशेष

काठमाडौं । सहकारीको साधारण सभा, सदस्यलाई उपहार। तर उपहार खोलेर हेर्दा चिउराको म्याद नै गुज्रिएको भेटिएपछि हंगामा मच्चिएको छ।

कोटेश्वरस्थित होटल ए वान भेन्युमा शुक्रबार आयोजित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा यस्तो घटना भएको हो। सभापछि सदस्यलाई खाद्य सामग्रीसहितको उपहार बाँडिएको थियो। त्यसमध्ये चिउराको म्याद १२ देखि १३ दिनअघि नै सकिएको भेटिएपछि सदस्यहरूले विरोध जनाएका थिए।

विवाद बढेपछि नजिकैको प्रहरी प्रभागबाट टोलीसमेत सभास्थल पुगेको थियो। म्याद गुज्रिएको चिउरा फिर्ता गरेर नयाँ दिने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद सकिएको स्वीकार गरेकी छन्। उनले भनिन्, ‘हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौँ। त्यसको म्याद १२–१३ दिन नाघेको रहेछ। त्यही विषयमा सामान्य विवाद भएको हो।’

मोक्तानका अनुसार उक्त चिउरा सहकारीले आफैँ उत्पादन गरेको नभई बजारबाट खरिद गरेर ल्याइएको थियो। म्याद सकिएको जानकारी नभएको बताउँदै उनले सबै सदस्यलाई चिउरा साट्न आउन सन्देश पठाइसकेको जानकारी दिइन्।

सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गरेका छन्। उनका अनुसार उपहारका लागि ६–७ सय प्याकेट चिउरा ल्याइएको थियो। उनले भने, ‘त्यसको म्याद सकिएको रहेछ। हामीले पनि हेरेनौँ। त्यही विषयलाई लिएर वादविवाद भएको हो। चिउरा फिर्ता ल्याउन भनिसकेका छौँ।’

अध्यक्ष र सचिवको भनाइमै चिउरा सहकारीकै उत्पादन हो वा बाहिरबाट खरिद गरिएको हो भन्नेमा फरक देखिएको छ। सचिवले बजारबाट किनेर ल्याइएको बताउँदा अध्यक्षले आफ्नै उत्पादन भएको बताएका छन्।

सहकारीले यसअघि साधारण सभामा सदस्यलाई उपहारस्वरूप नगद दिने गरेको थियो। सरकारले नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्रीसहितको उपहार दिने व्यवस्था गरिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *