`

समृद्धिका लागि तीन तहबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक – मुख्यमन्त्री थापा

Nepal One HD १८ असोज २०८३ १९:३३
राजनीति

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताएका छन्।

बागमतीको प्रदेश सुशासन केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका १० वर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले प्रदेश र स्थानीय तहबिच पर्याप्त समन्वय नहुँदा प्रदेशबाट पठाइएका वित्तीय हस्तान्तरण तथा साना विकास योजनाको कार्यान्वयनमा समस्या देखिएको बताए।

“स्थानीय तहसँग समन्वय नगरी प्रदेशस्तरबाट योजना समावेश गर्दा कतिपय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । तीनै तहका जनप्रतिनिधि र सरकारबिच सहकार्य भएमा विकास निर्माणका योजना प्रभावकारी रूपमा सञ्चालन हुनेछन्, जसबाट बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्”, मुख्यमन्त्री थापामगरले भने।

उहाँले बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रमा शिक्षक क्षमता विकास, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) कक्षा तथा आवश्यक उपकरणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिए। प्रदेश सरकारले बागमती विश्वविद्यालय सञ्चालन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सेवा तथा जनशक्ति विकासमा काम गरिरहेको उनले उल्लेख गरे।

प्रदेशका विभिन्न कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिमा योगदान पुर्‍याइरहेको बताउँदै मुख्यमन्त्री थापामगरले स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य र सङ्घीय सांसदबिच पनि निरन्तर समन्वय आवश्यक रहेको धारणा राखे। सरकारले निर्माण गरेका ऐन, कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *