‘छ माया छपक्कै २’ युरोपसहित विभिन्न देशमा प्रदर्शन हुँदै
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै २’ नेपालसँगै विदेशका विभिन्न मुलुकमा पनि प्रदर्शन हुने भएको छ।
दसैँको अवसर पारेर नेपालमा ३१ असोजदेखि प्रदर्शनमा आउन लागेको फिल्म युरोपमा अक्टोबर १७ बाट प्रदर्शन हुने जनाइएको छ। युरोपमा फिल्मको प्रदर्शनको जिम्मेवारी स्काई लाइन इन्टरटेनमेन्टका अध्यक्ष तथा निर्देशक जीके शर्माले लिएका छन्।
त्यस्तै, युएई, कतार, ओमन र बहराइनमा अक्टोबर १६ तथा क्यानडामा अक्टोबर २३ बाट फिल्म प्रदर्शनमा आउने बताइएको छ।
दीपक-दीपाश्री टिमले यसअघि निरन्तर सफल फिल्म दिँदै आएको छ। ‘छ माया छपक्कै २’ को निर्देशन दीपेन्द्र लामाले गरेका हुन्। फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
फिल्मले सामाजिक तथा राजनीतिक विकृतिमाथि हास्यव्यङ्ग्यात्मक शैलीमा कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। अघिल्लो फिल्मको लोकप्रियता र दीपक-दीपाश्री टिमको ब्रान्डका कारण ‘छ माया छपक्कै २’ लाई नेपाली बक्सअफिसमा प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।
साथै, फिल्मका निर्माता रोहित अधिकारी हुन्।
