झापा प्रशासन र यातायात व्यवसायीबिच जेनजी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी
झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका हुन्।
नेपाल सरकारले गत असार १८ गते स्वीकृत गरेको ‘जेनजी सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज’मा भएको व्यवस्थाअनुसार छुटको कार्यान्वयनका लागि प्रशासन र यातायात व्यवसायीबीच समझदारी भएको हो।
उक्त प्याकेजको बुँदा नं ८ मा अति गम्भीरदेखि गम्भीर वर्गीकरणमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत छुट तथा सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सरकारी प्याकेजमा भएका व्यवस्थालाई स्थानीयस्तरमा प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच समन्वय गरिएको बताए। “घाइतेले पाउनुपर्ने सुविधालाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यातायात व्यवसायीसँग छलफल गरी छुटको व्यवस्था मिलाइएको हो,” उनले भने।
उनका अनुसार एकीकृत प्याकेज कार्यान्वयनमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन प्रशासनले झापाका जेनजी सहिद परिवार तथा घाइतेको डिजिटल प्रोफाइलसमेत तयार गरेको छ।
झापामा दुई जेनजी सहिद परिवार तथा प्रशासनबाट परिचयपत्र प्राप्त ३७ जना जेनजी घाइते रहेका छन्। यातायात व्यवसायीका प्रतिनिधिले एउटै सार्वजनिक यातायातका साधनमा अधिकतम दुई जना जेन्जी घाइतेलाई उनीहरूको वर्गीकृत परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन्। छुट प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ।
