`

मायामा हराउने कि बहुलाउने? ‘३६ को आँकडा’को प्रेमिल गीत सार्वजनिक

Nepal One HD २५ असोज २०८३ २०:१८
मनोरञ्जन

काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत नेपाली चलचित्र ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायिका अञ्जु पन्त र गायक सत्यराज आचार्यको स्वर रहेको छ।

सुरेश अधिकारीको शब्द रहेको गीतले चलचित्रको प्रचारप्रसारलाई थप गति दिने निर्माण पक्षको अपेक्षा छ। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने विश्वास गरिएको छ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस चलचित्रमा मुख्य भूमिकामा देखिँदैछिन्। पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा रेखासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। फरक पुस्ताका कलाकारलाई एकैसाथ प्रस्तुत गरिएकाले पनि चलचित्र चासोको विषय बनेको छ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्रले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई पर्दामा प्रस्तुत गर्नेछ।

पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावलाई मुख्य विषय बनाइएको ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसार पनि अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *