`

एमालेविरुद्ध घेराबन्दी जारी रहेको ओलीको दाबी, नवनियुक्त केन्द्रीय सदस्यलाई सक्रिय भएर काम गर्न निर्देशन

Nepal One HD २६ असोज २०८३ १९:४७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई शपथ गराउँदै ओलीले जिम्मेवारी प्राप्त गर्नु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक विषय भएको बताए । विगतको योगदानका आधारमा मात्रै नभई कामको नतिजाबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।

ओलीले पार्टीका नीति, सिद्धान्त र निर्णयलाई कार्यकर्तामाझ प्रभावकारी रूपमा पुर्‍याउन तथा स्पष्ट योजना र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरे । एकैपटक धेरै काममा हात हाल्नुभन्दा व्यवस्थित ढङ्गले अघि बढे मात्रै लक्ष्य हासिल गर्न सकिने उनले बताए ।

नीति निर्माण र निर्णय प्रक्रियामा सही बाटो रोज्नुपर्ने उल्लेख गर्दै ओलीले समस्यालाई बल्झाउनुको सट्टा समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले मुलुकको राजनीतिक परिस्थिति जटिल रहेको र एमालेविरुद्ध घेराबन्दी जारी रहेको दाबी गर्दै यस्तो अवस्थामा आडम्बरभन्दा यथार्थलाई आधार बनाएर अघि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *