`

एनपीएलमा विराटनगरको २२० रनदेखि जनकपुरको ५१ रनसम्म, बन्यो यस्तो रेकर्ड

Nepal One HD १ कार्तिक २०८३ १३:२९
अर्थ समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का दुई संस्करणमा विराटनगर किंग्सले सर्वाधिक २२० रन बनाउँदा जनकपुर बोल्ट्स भने ५१ रनमै समेटिएको छ । प्रतियोगिताका यी दुई स्कोरले टी-२० क्रिकेटमा ब्याटिङ र बलिङको प्रभाव कति फरक हुन सक्छ भन्ने देखाउँछन् ।

सन् २०२५ नोभेम्बर १८ मा पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो । जवाफमा पोखरा १८.५ ओभरमा १६७ रनमा समेटिएपछि विराटनगरले ५३ रनको जित निकालेको थियो । यो एनपीएल इतिहासकै सर्वाधिक टोलीगत स्कोर हो ।

दोस्रो संस्करणमै पोखरा एभेन्जर्सले पनि २०० रनको आँकडा पार गरेको थियो । डिसेम्बर २ मा कर्णाली याक्सविरुद्ध पोखराले दुई विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा कर्णाली १९ ओभरमा १६७ रनमा समेटिएपछि पोखराले ३४ रनले खेल जितेको थियो ।

पहिलो संस्करणमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल पनि उच्च स्कोरका कारण चर्चामा रह्यो । सन् २०२४ मा लुम्बिनीले २० ओभरमा सात विकेट गुमाएर १९१ रन बनाएको थियो । विराटनगरले आठ विकेट गुमाएर लक्ष्य पूरा गरेपछि खेल दुई विकेटले आफ्नो पक्षमा पारेको थियो । दुवै टोलीले कुल ३८४ रन बनाएको उक्त खेल एनपीएलका उच्च स्कोर बनेका खेलमध्ये एक हो ।

एनपीएलको सबैभन्दा कम टोलीगत स्कोर भने जनकपुर बोल्ट्सको नाममा छ । सन् २०२४ डिसेम्बर ११ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेट गुमाएर १२३ रन बनाएको थियो । जवाफमा जनकपुर १२.१ ओभरमै ५१ रनमा अलआउट भएपछि सुदूरपश्चिमले ७२ रनको जित निकालेको थियो ।

पहिलो संस्करणमै पोखरा एभेन्जर्स पनि चितवन राइनोजविरुद्ध ७४ रनमा समेटिएको थियो । डिसेम्बर ३ मा चितवनले सात विकेट गुमाएर १६१ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमै अलआउट भएपछि चितवनले ८७ रनको फराकिलो जित हात पारेको थियो ।

दोस्रो संस्करणमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ७८ रन मात्रै बनाउन सकेको थियो । डिसेम्बर ९ मा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफमा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटिएपछि सुदूरपश्चिम ७७ रनले विजयी भएको थियो ।

एनपीएलका दुई संस्करणमा विराटनगरको २२० रन सर्वाधिक र जनकपुरको ५१ रन न्यून टोलीगत स्कोर बनेको छ । कुनै खेलमा ब्याटरले रनको वर्षा गरेका छन् भने कुनैमा बलर हाबी हुँदा टोली सामान्य योगफलमै समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *