जीबी राईसहित विदेशमा रहेका आरोपितलाई फर्काउन सरकारमाथि दबाब बढाउँदै ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित विदेशमा रहेका सबै आरोपितलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सहकारीमा बचत गरेको सर्वसाधारणको रकम फिर्ता गराउन सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। उनले विगतमा कांग्रेस, एमाले र माओवादीको आडमा सहकारी ठगी गरेर विदेश भागेको आरोप लागेका व्यक्तिहरूलाई समेत नेपाल ल्याउनुपर्ने माग गरेका छन्।
शाहीले साग बेचेर, सडकमा मकै पोलेर, इँटा बोकेर तथा दिनरात पसिना बगाएर कमाएको रकम सहकारीमा जम्मा गरेका गरिब नागरिकको पैसा फिर्ता गराउनुपर्नेमा जोड दिएका छन्।
उनले सहकारी ठगीका कारण आर्थिक क्षति भोगेका बचतकर्तालाई रकम फिर्ता गराउनु मात्रै पर्याप्त नहुने उल्लेख गरेका छन्। आर्थिक क्षति र त्यसबाट उत्पन्न मानसिक पीडाका कारण आत्महत्या गर्न बाध्य भएका नागरिक तथा उनीहरूका परिवारले न्याय पाउनुपर्ने उनको भनाइ छ।
शाहीले यस्ता घटनामा परिस्थितिअनुसार आत्महत्या दुरुत्साहन तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दासमेत चलाउनुपर्ने माग गरेका छन्।
उनले आफ्नो मागप्रति सहमत हुनेहरूलाई धारणा सार्वजनिक गर्न र पीडितलाई न्याय तथा दोषीलाई कानुनी सजाय दिलाउन आवाज उठाउनसमेत आग्रह गरेका छन्।
