बडादसैँ सद्भाव, भ्रातृत्व र सामाजिक एकताको सङ्गम होः मुख्यमन्त्री शाही
कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपालीको महान् चाड बडादसैँ सद्भाव, भ्रातृत्व र सामाजिक एकताको सङ्गम भएको बताउनुभएको छ ।
आश्विन शुक्ल सप्तमी अर्थात् बडादसैँ २०८३ को विशेष दिनका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आमनेपाली तथा कर्णालीवासीलाई सुख, शान्ति र समृद्धिसहितको आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको बडादसैँ राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान, पहिचान एवं अस्तित्वको रक्षा गर्ने मौलिक परम्परा भएको बताउनुभएको हो ।
शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “असत्यमाथि सत्य र अन्यायमाथि न्यायरूपी विजयको सन्देश दिने यसपर्वले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को साझा लक्ष्य हासिल गर्न हामी सबैमा नयाँ हिम्मत, विश्वास र ऊर्जा पैदा गर्ने विश्वास लिएको छु । कर्णाली प्रदेश सरकार पनि हाम्रा मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण एवं सम्वद्र्धनका लागि क्रियाशील छ ।”
मूलतःबडादसैँलगायत पर्वले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो मुलुकमा विविधताभित्रको एकता, भाइचारा र आपसी सद्भावलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मुख्यमन्त्री शाहीले सबै दल तथा सरोकारवालाबीच सहमति, सहकार्य र आपसी विश्वासमार्फत राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउँदै प्रदेश र मुलुकको समृद्धि यात्रामा अगाडि बढ्ने सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
