फ्रान्समा किन भइरहेको छ सरकारविरुद्द प्रदर्शन?
पेरिस। बढ्दो महँगी, इन्धनको चर्को मूल्य र सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध फ्रान्सका विभिन्न सहरमा शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। दशकौँयताकै गम्भीर अशान्तिमध्ये एक मानिएको घटनामा प्रदर्शनकारीले सरकारी भवनमा आगजनी गर्नुका साथै पसलमा लुटपाट र प्रहरीमाथि आक्रमण गरेका छन्।
देशभरका दर्जनौँ सहरमा लाखौँ मानिस शान्तिपूर्ण रूपमा सडकमा उत्रिए पनि केही समूहले प्रदर्शनलाई हिंसात्मक बनाएका थिए। उनीहरूले सरकारी कार्यालय, महँगा ब्रान्डका पसल र सुपरमार्केटलाई निशाना बनाउनुका साथै प्रहरीका सवारीसाधनमा तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।
लिमोज सहरको नगरपालिकाको भवनमा आगजनी गरिएको छ भने मार्सेमा कालो पोसाक लगाएका प्रदर्शनकारी नगरपालिकाको भवनभित्र प्रवेश गरी तोडफोड र भित्तामा अराजकतावादी नारा लेखेका थिए। लियोँ सहरमा प्रदर्शनकारीले पर्यटक सूचना केन्द्रमा समेत आगो लगाएका छन्।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाका माध्यमबाट सरकारलाई दबाबमा पार्न खोज्ने प्रयास सफल हुन नदिने बताएका छन्। आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै हिंसा भड्काइएको आरोप लगाउँदै उनले अतिवामपन्थी समूह र आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अशान्तिको जिम्मेवार ठहर गरेका छन्।
प्रधानमन्त्री लेकोर्नुले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनअघि यो हिंसालाई पूर्वाभ्यासका रूपमा प्रयोग गर्न स्पष्ट रूपमा चाहनेहरूलाई म भन्न चाहन्छु-हामी डराउने छैनौँ। कसैले पनि हिंसाको माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा लाद्न पाउने छैन।’
उनका अनुसार प्रदर्शनका क्रममा करिब १ हजार २०० जना पक्राउ परेका छन्। उनले साँझ हिंसाबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशभरका प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएको बताएका छन्। तर, श्रमिक सङ्गठन सीजीटीले भने प्रदर्शनकारीको सङ्ख्या करिब ८ लाख पुगेको अनुमान गरेको छ।
राष्ट्रपति इम्यानुएल म्याक्रोंले आक्रमण र तोडफोडमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै संस्थाहरूलाई कमजोर पार्न र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने नागरिकलाई रोक्न खोज्ने अराजक तत्त्वविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले जीवनयापनको बढ्दो लागत, इन्धनको चर्को मूल्य, शिक्षा क्षेत्रमा शिक्षकको अभाव र विद्यालयको कमजोर पूर्वाधारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रहरीको व्यवहार, राष्ट्रपति म्याक्रोंको नेतृत्व र धनी वर्गको प्रभावविरुद्ध पनि उनीहरूले नाराबाजी गरेका थिए।
प्रदर्शन शनिबार मध्याह्नतिर सुरु भएको थियो। केही स्थानमा भने औपचारिक समयभन्दा अगाडि नै प्रदर्शनकारी सडकमा निस्किएका थिए।
पेरिसका केही क्षेत्रमा प्रदर्शनकारीसँगको झडपका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीको कारबाहीबाट जोगिन खोजेका अधिकांश युवा प्रदर्शनकारीले कालो पोसाक, हुडी, मास्क र आँखाको सुरक्षाका लागि चस्मा लगाएका थिए।
प्रदर्शनकारीले पेरिसस्थित प्रसिद्ध ग्यालरी लाफायेत डिपार्टमेन्ट स्टोरमा प्रवेश गर्ने प्रयास गरेका थिए। उनीहरूले बैंकका भवनमा तोडफोड गर्नुका साथै ल्याकोस्टलगायतका ब्रान्डेड पसल लुटेका थिए। एसएफआर मोबाइल फोन पसलमा समेत लुटपाट भएको थियो। दिनभर विभिन्न स्थानमा सवारीसाधन र अन्य वस्तुमा आगजनी गरिएको थियो।
फ्रान्समा भएको आन्दोलनको प्रभाव अन्य युरोपेली देशमा समेत देखिएको छ। शनिबार बेल्जियम, पोर्चुगल र इटालीमा पनि जीवनयापनको बढ्दो लागतविरुद्ध प्रदर्शन भएका थिए। अल्बानियामा भने सरकारी भ्रष्टाचार, रोजगारीको अभाव र कमजोर शैक्षिक अवस्थाविरुद्ध प्रदर्शन जारी रहेको छ।
बेल्जियमको राजधानी ब्रसेल्समा केही सय युवाले प्रदर्शन गरेका थिए। त्यहाँ केही प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। विद्यार्थी समूहहरूले उच्च शिक्षाको लागत बढेको र प्रस्तावित सुधारले विश्वविद्यालयको शिक्षा सर्वसाधारणका लागि पहुँचबाहिर पुग्न सक्ने भन्दै विरोध जनाएका छन्।
पोर्चुगलको राजधानी लिस्बनमा आवास तथा दैनिक जीवनयापनको बढ्दो खर्चविरुद्ध दशौँ हजार मानिस सडकमा उत्रिएका थिए। सन् २०१७ यता त्यहाँ घरजग्गाको मूल्य दोब्बर भएको बताइएको छ, जसले आवासको पहुँचसम्बन्धी सङ्कटलाई थप गम्भीर बनाएको छ।
इटालीको मिलानमा महँगीविरुद्ध आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्दै मुख्य क्याथेड्रल क्षेत्रबाट भीड हटाएको थियो। बोलोन्या सहरमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो। समाचार संस्था एएनएसएका अनुसार त्यहाँ सात जना पक्राउ परेका छन्।
अल्बानियामा प्रधानमन्त्री एडी रामाको राजीनामा माग गर्दै विद्यार्थीहरूले पाँचौँ दिन पनि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोलीजस्ता देखिने गोली प्रहार गरेको विवरण सार्वजनिक भएको छ।
फ्रान्समा पछिल्लो प्रदर्शन गत महिना पेरिसका उत्तरी क्षेत्रमा रहेका श्रमिक वर्गको बाहुल्य भएका क्षेत्रका माध्यमिक विद्यालयबाट सुरु भएको थियो। शिक्षकको अभाव र विद्यालयको कमजोर भौतिक अवस्थाविरुद्ध सुरु भएको आन्दोलन विस्तारै आर्थिक असमानता, सार्वजनिक खर्च र जीवनस्तरको मुद्दामा केन्द्रित भएको हो।
शनिबार पेरिसका विभिन्न सडकमा प्रदर्शनकारीले पहेँलो रङका उच्च दृश्यता भएका ज्याकेट लगाएर सडक अवरुद्ध गरेका थिए। उनीहरूको शैलीले राष्ट्रपति म्याक्रोंको अघिल्लो कार्यकालमा चर्चित बनेको ‘येलो भेस्ट’ आन्दोलनको सम्झना गराएको थियो।
शनिबारको प्रदर्शनमा सहभागीको सङ्ख्या येलो भेस्ट आन्दोलन उत्कर्षमा पुगेको समयको भन्दा बढी रहेको बताइएको छ। यद्यपि, सन् २०२३ मा पेन्सन प्रणालीमा गरिएको सुधारविरुद्ध भएको विशाल प्रदर्शनको तुलनामा भने यसपटकको सहभागिता कम थियो।
राष्ट्रपति म्याक्रों आफ्नो कार्यकालको अन्तिम चरणमा प्रवेश गर्दै गर्दा फ्रान्सको राजनीतिक अवस्था थप विभाजित बन्दै गएको छ। अर्थतन्त्रसम्बन्धी चुनौती र सरकारप्रतिको असन्तुष्टिले उनको नेतृत्वमाथि दबाब बढाएको छ।
सरकारी ऋण घटाउने फ्रान्सको प्रयासले लगानीकर्ताको चिन्ता कम गर्न सकेको छैन। यसका कारण सरकारी ऋणपत्रमार्फत रकम जुटाउँदाको लागत दुई दशकभन्दा बढी समययताकै उच्च तहमा पुगेको विवरण सार्वजनिक भएको छ।
प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग र सुरक्षाकर्मीको व्यवहारलाई लिएर पनि प्रश्न उठिरहेका छन्। हालैका प्रदर्शनमा घाइते हुनेको सङ्ख्या बढ्दै गएको तथा एक किशोरले विस्फोटक पदार्थजस्तो देखिने स्तब्ध पार्ने उपकरण उठाउने क्रममा हात गुमाएको घटनापछि प्रहरीको कार्यशैलीमाथि थप आलोचना भएको हो।
प्रहरीको व्यवहारसम्बन्धी निगरानी निकायले प्रहरी हिंसासँग सम्बन्धित कम्तीमा दुई दर्जन आरोपको अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री लेकोर्नुका अनुसार शनिबारको प्रदर्शनमा १५० भन्दा बढी प्रहरी अधिकारी घाइते भएका छन्। तर, प्रदर्शनकारीमध्ये कति जना घाइते भए भन्नेबारे उनले स्पष्ट विवरण दिएका छैनन्।
गृहमन्त्री नुनेजले भने प्रहरीसँगको झडपका क्रममा एक व्यक्तिको हात चुँडिएको घटनाको पुष्टि गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले प्रहरीको स्तब्ध पार्ने विस्फोटक उपकरण उठाउने प्रयास गरेका थिए।
(तस्विर: रोयटर्स)
