चाडपर्वमा चितवन निकुञ्जको सुरक्षा कडा, १२०० भन्दा बढी जनशक्ति परिचालन
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा स्थानीय बासिन्दा पर्व मनाउन व्यस्त हुने र अपरिचित व्यक्तिको आवतजावत बढ्न सक्ने भएकाले चोरी-शिकारीको जोखिमलाई ध्यानमा राखेर विशेष सुरक्षा रणनीति अपनाइएको छ ।
त्यस्तै, निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गरी निगरानी भइरहेको छ । चोरी-शिकारीको जोखिम बढी भएका क्षेत्रमा क्यामेरासँगै क्याम्पिङ, एम्बुसिङ र विशेष गस्तीलाई प्राथमिकता दिइएको सूचना अधिकारी मगरले बताए ।
निकुञ्जले नियमित गस्तीका अतिरिक्त स्विपिङ, पैदल तथा साइकल गस्ती, मोटरसाइकल गस्ती र डुङ्गा, गाडी तथा हात्तीबाट समेत निगरानी गर्ने व्यवस्था मिलाएको छ । संवेदनशील क्षेत्रमा सुरक्षा टोलीबीच समन्वय बढाउन ‘लिङ्क पेट्रोलिङ’ पनि सञ्चालन भइरहेको छ । चोरी-शिकारीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै चुरे क्षेत्रमा समेत निगरानी बढाइएको छ ।
निकुञ्ज क्षेत्रभित्र रहेका ५७ स्थायी र तीन अस्थायी सुरक्षा पोस्टबाट सुरक्षा प्रदान भइरहेको छ । शंकास्पद स्थानमा तालिमप्राप्त कुकुर (स्निफर डग) परिचालन गरेर निगरानी गर्ने योजना पनि बनाइएको छ ।
साथै, निकुञ्ज प्रशासनले स्थानीय समुदायसँग सहकार्य गर्दै वन्यजन्तु र जैविक विविधताको संरक्षणलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
