इरानको चेतावनी : अमेरिका र इसराइलले आक्रमण गरे खाडीका सात देशका तेल केन्द्र निशानामा
काठमाडौं-इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात वटासम्म देशमा रहेका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यस्तो चेतावनी दिएको द गार्डियनले जनाएको छ। इरान र अमेरिकाबीचको द्वन्द्व अन्त्य गर्न वार्तामा संलग्न नेता मोहम्मद गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सैद्धान्तिक रूपमा इरानमाथि आक्रमण गर्न सहमत भएको दाबी गरेका छन्। तर, उनीहरूले आक्रमण सफल हुने सुनिश्चितता गर्न नसक्ने उनको भनाइ छ। मोहम्मदीले आगामी द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वमाथिको खतराका रूपमा लिएको बताउँदै दुई वर्षभित्र तेस्रो युद्ध हुनु अस्तित्वमाथिको खतरा भएको र इरानको रणनीति अब कुनै पनि सीमारेखा नराख्ने रहेको बताएका छन्। उनले युद्ध शत्रुले अनुमान गरेभन्दा लामो समयसम्म चल्ने र यसको भौगोलिक दायरा पनि सोचेभन्दा व्यापक हुने चेतावनी दिएका छन्।
इरानले यस्तो सैन्य कारबाही गर्न सक्ने क्षमता तथा चीन वा रुसबाट प्राप्त हुन सक्ने अनौपचारिक सहयोगले अमेरिका युद्ध पुनः सुरु गर्ने निर्णय गर्दा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार रेजाईले युद्ध पुनः सुरु भएमा समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र एआईसम्बन्धी पूर्वाधारलाई समेत निशाना बनाउन सकिने बताएका छन्। ‘इरानको आर्थिक जीवनरेखामाथि आक्रमण भइरहँदा त्यस्ता आक्रमणलाई सम्भव बनाउने आर्थिक संरचना भने अछुतो र सुरक्षित रहन सक्दैन,’ उनले भनेका छन्।
अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार अमेरिकी सैन्य सल्लाहकारहरूले इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा गर्न सक्ने सम्भावित नयाँ आक्रमणका लागि लक्ष्यहरूको विस्तृत सूची तयार पारेका छन्। उक्त आक्रमण नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि हुन सक्ने बताइएको छ। इरान, यमन र प्यालेस्टाइनसँग सम्बन्धित संकटबारे साझा रणनीति तय गर्न युरोपका तीन देशका साथै टर्की, साउदी अरब, पाकिस्तान र इजिप्टका विदेशमन्त्रीहरू शुक्रबार इस्तानबुलमा बैठक बस्दैछन्। तेहरान र वासिङ्टन दुवैले अर्को युद्धलाई सम्भावित अवस्थाका रूपमा लिन थालेपछि क्षेत्रीय तनाव थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसैनिक बलले बुधबार हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोजेका चारवटा व्यावसायिक जहाजमा एकैसाथ हमला गरेको दाबी गरेको छ। ती जहाजले एउटा जहाजबाट अर्को जहाजमा तेल स्थानान्तरण गरिरहेको बताइएको छ। आईआरजीसीले उक्त जलडमरूमध्यमा बिछ्याइएका बारुदी सुरुङमा परेर थप तीनवटा जहाजमा क्षति पुगेको पनि दाबी गरेको छ। तर, ती जहाजमा हमला भएको वा क्षति पुगेको विवरणको स्वतन्त्र पुष्टि भएको छैन।
अमेरिका र इसराइलले इरानमाथि पुनः संयुक्त आक्रमण गर्न सक्ने समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३.४ अमेरिकी डलर पुगेको छ, जुन पछिल्लो समयकै उच्च मूल्य भएको समाचारमा उल्लेख छ। अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्लो चार महिनामा सातपटक इरानमाथि पुनः आक्रमण गर्ने योजनाबाट पछि हटिसकेको बताइएको छ। तर, कूटनीतिक वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी सरकारी अधिकारीहरूले नयाँ सैन्य अभियानको सम्भावनाबारे जानकारी दिन थालेका छन्। सम्भावित अभियानमा इरानका क्षेप्यास्त्र केन्द्र, तेल पूर्वाधार र आणविक केन्द्रलाई निशाना बनाउन सकिने बताइएको छ।
दुवै पक्षबाट आक्रमणको चेतावनी आइरहेका बेला अमेरिका र इसराइलले संयुक्त सैन्य अभ्यासलाई पनि निरन्तरता दिएका छन्। उक्त अभ्यासमा इराकमाथिको हवाई उडानसम्बन्धी अभ्याससमेत समावेश छ। एक्सियसका अनुसार यसै साता दर्जनौँ इसराइली विमान इरानको सीमाक्षेत्र नजिकै उडेका थिए। त्यस्तै, मध्य इरानको अराकस्थित ठूलो आल्मुनियम कारखानामा लागेको भीषण आगलागीले इरानभित्रै तोडफोडका गतिविधि भइरहेको हुन सक्ने संकेत गरेको समाचारमा उल्लेख छ।
इसराइली प्रधानमन्त्री नेतान्याहुले सोमबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथसँग इसराइलमा भेटवार्ता गरेका थिए। उनीहरूबीच संयुक्त आक्रमणको समय र उद्देश्यका साथै त्यसले नेतान्याहुको पुनःनिर्वाचनको सम्भावनामा पार्न सक्ने राजनीतिक प्रभावबारे छलफल भएको बताइएको छ। रिपोर्टअनुसार नेतान्याहुले इरानले पहिले आक्रमण गरिदिए आफूलाई सहज हुने धारणा हेगसेथसमक्ष राखेका थिए। अमेरिकाले नोभेम्बरको सुरुसम्म मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने तयारी गरेको छ। जनवरीमा नयाँ अमेरिकी संसद् र सिनेटका सदस्यहरूले कार्यभार सम्हाल्नुअघि उक्त तयारी पूरा गर्ने लक्ष्य राखिएको बताइएको छ। ट्रम्पले नोभेम्बरसम्म मध्यपूर्वमा तीनवटा विमानवाहक युद्धपोत, हजारौँ मरीन सैनिक, लडाकु विमान र विशेष सैन्य बल तैनाथ गर्ने योजना बनाएका छन्।
