सरकारका गतिविधि हेरेर चुप लागेर बस्दैनौँ : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले दुई तिहाइ बहुमतको सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आफ्नो पार्टी मौन दर्शक बनेर नबस्ने बताएका छन्।
पार्टीले शनिबारदेखि सुरु गरेको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले सरकारबाट जनताका अपेक्षा पूरा हुने विश्वास गरिए पनि पछिल्ला गतिविधिले विभिन्न प्रश्न उठाएको बताए।
दुई तिहाइ बहुमतको सरकारले देशलाई जिम्मेवार ढङ्गले अघि बढाउने, जनताका आकाङ्क्षा पूरा गर्ने तथा राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र गणतन्त्रको संरक्षण एवं सुदृढीकरण गर्ने अपेक्षा गरिएको उनको भनाइ थियो।
‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढङ्गले मुलुक चलाउनेछ। जनताका इच्छा आकाङ्क्षालाई पूरा गर्नेछ। देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ, सुदृढ गर्नेछ भन्ने थियो,’ नेपालले भने, ‘तर अनेकौँ खालका कुरा देखिरहँदा स्वाभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ।’
सरकारका कामकारबाहीबारे भइरहेका विभिन्न टिप्पणी र उठिरहेका प्रश्नकै बीच पार्टीले जनतामाझ पुग्ने अभियान अघि बढाएको उनले स्पष्ट पारे।
दुईमहिने अभियानमार्फत गाउँ र वडा तहसम्म पुगेर जनताको अपेक्षा, सुझाव तथा गुनासा सुन्ने र पार्टीले त्यसको समीक्षा गर्ने नेपालको भनाइ छ। जनताका वास्तविक समस्या बुझेर आगामी राजनीतिक कार्यदिशा तय गर्न अभियानले सहयोग पुर्याउने उनले बताए।
‘यो सबै कुराको बीचमा हामीले सोच्यौँ, अभियान चलाऔँ, जनताका बीचमा जाऔँ। गाउँ, वडा केन्द्रित बनौँ। जनताका के भनाइ छन्, आशा, आकाङ्क्षा, गुनासा के–के छन्, ती सबै सुनौँ,’ नेपालले भने, ‘त्यसको सबै समीक्षा गरौँ भन्ने सोच राखेर यो अभियान सुरु गर्न गइरहेका छौँ।’
उनका अनुसार अभियान सञ्चालनका लागि विस्तृत योजना तयार पारिएको छ। यस क्रममा बृहत् कार्यकर्ता भेला आयोजना गरी पार्टीका धारणा र सन्देश जनतासम्म पुर्याइनेछ।
नेकपाले राष्ट्रिय जागरण अभियानमार्फत जनतासँगको सम्बन्ध विस्तार गर्ने, उनीहरूका समस्या र असन्तुष्टि बुझ्ने तथा प्राप्त सुझावका आधारमा आत्मसमीक्षा गर्ने लक्ष्य लिएको छ।
