`

हुथी आक्रमणको त्रासबीच रियाद विमानस्थल खुल्यो, फेरि आक्रमणको चेतावनी

Nepal One HD ९ कार्तिक २०८३ १५:०५
विश्व
काठमाडौं । यमनका हुथी विद्रोहीको आक्रमणपछि दुई सातादेखि बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् । तर, इरान समर्थित हुथी समूहले विमानस्थल अझै असुरक्षित रहेको भन्दै आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

उडान अनुगमन गर्ने वेबसाइट ‘फ्लाइटराडार’का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गएको थियो ।

विमानस्थलले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अक्टोबर २५ देखि लागू हुने गरी टर्मिनल १ बाट आन्तरिक उडान र टर्मिनल २ बाट राष्ट्रिय वायुसेवा कम्पनीहरूले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिएको थियो ।

त्यस्तै, साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार पछिल्ला साताहरूमा हुथी विद्रोहीका लगातारका आक्रमणको सामना गरिरहेका छन् । लामो समयदेखि कायम युद्धविराम यसै गर्मीयाममा भंग भएपछि द्वन्द्व थप चर्किएको हो ।

हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई पटक-पटक निशाना बनाएका छन् । यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ । उक्त आक्रमण साउदी अरबमा एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक घटनामध्ये एक बनेको छ ।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित विमानस्थल अझै पनि असुरक्षित रहेको दाबी गर्दै त्यसलाई सैन्य लक्ष्यका रूपमा लिइएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय वायुसेवा कम्पनीहरूलाई विमानस्थल प्रयोग नगर्न चेतावनी दिएका छन् । विमानस्थल प्रयोग गर्दा कर्मचारी र यात्रुको ज्यान जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ ।

यमनमा चर्किएको द्वन्द्वले साउदी अरब र इरानबीचको क्षेत्रीय तनावलाई थप बढाएको छ । यसले अमेरिका र इरानबीचको व्यापक टकरावको प्रभाव पनि यमनतर्फ विस्तार गरेको छ ।

साथै,लामो समयदेखि द्वन्द्व र अस्थिरताबाट गुज्रिरहेको विश्वका गरिब मुलुकमध्ये एक यमनमा यसले मानवीय संकट थप गहिरिने चिन्ता बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *