लुम्बिनीको कसिलो बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ चल्न सकेन। लुम्बिनी लायन्सका बलरहरूको कसिलो बलिङसामु कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम ८७ रनमै अलआउट भएको छ।
सुदूरपश्चिमका ब्याट्सम्यानले क्रिजमा टिकेर खेल्न नसक्दा टोलीले नियमित अन्तरालमा विकेट गुमाएको थियो। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा २ चौका प्रहार गरे। अनिल खरेलले २६ बलमा १५ रन बनाए भने सैफ जैबले १४ बलमा १३ रन जोडे।
त्यस्तै, विनोद भण्डारीले ९, इशान पाण्डेले ७, अभिनाश बोहराले ३, ब्रान्डन म्याकमुलेनले २ तथा शेरफेन रदरफोर्डले १ रन बनाए। आरिफ शेख र स्कट कुगेलेइनले खाता खोल्न सकेनन्। हेमन्त धामी पनि १ बल खेलेर शून्य रनमा आउट भए।
लुम्बिनीका लागि किशोर महतोले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा ११ रन दिएर ३ विकेट झारे। साड्ली भान साल्कविकले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए भने तिलकराज भण्डारी र रोहित पौडेलले पनि १–१ विकेट हात पारे।
लुम्बिनीका बलरहरूले सुदूरपश्चिमका ब्याट्सम्यानलाई खुला रूपमा रन बनाउन नदिँदा टोलीको ब्याटिङ तहसनहस भयो। अब लुम्बिनी लायन्सले जितका लागि ८८ रनको लक्ष्य पछ्याउनेछ।
